केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै 'ककरोच जनता पार्टी' (सिजेपी) ले दिल्लीको जन्तर-मन्तरमा सुरू गरेको आन्दोलन बुधबार झनै चर्किएको छ।
बुधबार बिहानैदेखि हजारौंको संख्यामा प्रदर्शनकारीहरू जन्तर-मन्तरमा भेला भएका छन्। माग पूरा नभए लाखौँ मानिस सडकमा उत्रिने चेतावनी सिजेपीले दिएको छ।
आन्दोलनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले संसद भवन र रफी मार्ग लगायतका प्रमुख क्षेत्रमा कडा ब्यारिकेड लगाएको छ।
सिजेपीको आन्दोलन र विभिन्न राजनीतिक दलहरूको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल (सिआरपिएफ) का थप २० कम्पनी दिल्लीमा तैनाथ गर्न आदेश दिएको छ।
सिआरपीएफको एक कम्पनीमा करिब १०० जना जवान हुन्छन्।
गृह मन्त्रालयले मंगलबार राति जारी गरेको आपतकालीन आदेशपछि पश्चिम बंगालबाट सिआरपीएफका जवानहरूलाई हवाईजहाजमा राजधानी दिल्ली ल्याउने क्रम सुरू भएको भारतीय समाचार संस्था पिटिआईले जनाएको छ।
यसबीच भारतको लोकसभाका विपक्षी नेता राहुल गान्धीले मंगलबार प्रहरी हिरासतमा रहेकै बेला भिडिओ सन्देश जारी गर्दै सरकारसमक्ष ५ बुँदे माग अघि सारेका छन्। प्रधानमन्त्री निवास बाहिर धर्ना दिँदा पक्राउन परेका गान्धीले हिरासतमा राखिएको छत्रसाल स्टेडियमबाट भिडिओ सन्देश जारी गरेको बिबिसीले जनाएको छ।
राहुल गान्धीका ५ बुँदे मागहरू यस प्रकार छन् —
१. गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा।
२. शान्तिपूर्ण प्रदर्शनमा रहेका विद्यार्थीमाथि कुटपिट र अपमान गर्नेमाथि कारबाही।
३. आन्दोलन क्रममा विद्यार्थीहरूमाथि लगाइएका सबै मुद्दा खारेज।
४. संसदमा प्रश्नपत्र लीक र शिक्षा क्षेत्रका समस्याबारे तत्काल बहस।
५. विद्यार्थीहरूमाथि गरिएको दमनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्रीले देशवासीसँग माफी माग्नुपर्ने।
सोमबारको 'चलो संसद' मार्च क्रममा भएको हिंसा र तोडफोडबारे अनुसन्धान गर्न प्रहरीले पार्लियामेन्ट स्ट्रिट र कनट प्लेस लगायतका थानामा हालसम्म ६ वटा एफआइआर दर्ता गरेको छ। प्रहरीले यो घटना पछाडि कुनै 'ठूलो आपराधिक षड्यन्त्र' भए/नभएकोबारे अनुसन्धान अघि बढाएको छ।
सोमबार प्रहरीले अनुमति नदिएपछि र भारतीय नागरिक सुरक्षा संहिताको दफा १६३ लागू गरे पनि हजारौं प्रदर्शनकारीहरू जन्तर-मन्तरमा भेला भएका थिए। कतिपय क्षेत्रमा इन्टरनेट सेवा र मेट्रो स्टेसनहरू बन्द गरिए पनि प्रदर्शनकारीहरू संसदतर्फ अघि बढेपछि स्थिति तनावग्रस्त बनेको थियो।
कनट प्लेस, पटेल चोक, रायासिना रोड र इन्डिया गेट क्षेत्रमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। धेरै घाइते विद्यार्थीलाई लेडी हार्डिन्ज र राम मनोहर लोहिया अस्पतालमा भर्ना गरिएको छ, जहाँ एक छात्राको आइसियूमा उपचार भइरहेको छ।
दिल्ली प्रहरीका अनुसार प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै ढुंगामुढा र आक्रमण गर्दा ११८ जना प्रहरी जवान घाइते भएका छन्।
दिल्ली प्रहरीले मंगलबार विपक्षी दल नेता राहुल गान्धीसहित प्रियंका गान्धी, अखिलेश यादव लगायत नेताहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई केही बेर हिरासतमा राखेर छाडिएको बिबिसीले जनाएको छ।
नीट (राष्ट्रिय योग्यता परीक्षा) प्रश्नपत्र लीक प्रकरण र आन्दोलनकारी विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोध गर्दै उनीहरू धर्नामा बसेका थिए।
यसबीच विपक्षी नेताको कदमप्रति कडा आपत्ति जनाउँदै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राहुल गान्धी र कांग्रेस पार्टीले विद्यार्थीहरूलाई राजनीतिक हतियार बनाएर संसदको मनसुन अधिवेशन अवरूद्ध गर्न खोजेको आरोप लगाएका छन्।
मंगलबार राति सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै मन्त्री प्रधानले भने, 'सरकार संसदमा सबै विषयमा छलफल गर्न तयार भइसकेको अवस्थामा पनि कांग्रेसले लोकतान्त्रिक बहस छाडेर सडक प्रदर्शन रोज्यो। प्रधानमन्त्री निवास घेराउ गरेर आमनागरिकलाई सास्ती दिने र सुरक्षा प्रोटोकल तोड्ने काम मात्र भएको छ। उहाँहरूको उद्देश्य समस्या समाधान भन्दा पनि राजनीतिक चर्चा बटुल्नु मात्र हो।'
उता दिल्लीको जन्तर-मन्तरमा आन्दोलनरत विद्यार्थीहरूलाई समर्थन गर्न शिवसेना (युबिटी) का नेता उद्धव ठाकरे र तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रा पुगेका छन्।
कक्रोच जनता पार्टी (सिजेपी) ले आन्दोलन स्थल पुगेका विपक्षी नेताहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
आन्दोलनकारी विद्यार्थीहरूसँगको भिडिओ पोस्ट गर्दै मोइत्राले सरकारले आफ्ना माग राख्न नडराउने युवाहरूलाई सम्हाल्न नसकेको टिप्पणी गरिन्।
भारतमा बुधबारबाट विपक्षी शीर्ष नेताहरूको गिरफ्तारी र विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोधमा देशव्यापी प्रदर्शन सुरू भएको छ। केरल र असममा कांग्रेस कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् भने उत्तर प्रदेशको अलिगढमा समाजवादी पार्टीका कार्यकर्ताहरूले अखिलेश यादवको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेका छन्।
संसद भवन र मध्य दिल्ली क्षेत्रमा थप प्रदर्शन हुनसक्ने आशंकाबीच प्रहरीले सुरक्षा व्यवस्था अत्यन्त कडा बनाउँदै ठूलो संख्यामा ब्यारिकेड राखेको छ।