भारतको दिल्लीस्थित जन्तर-मन्तरमा 'कक्रोच जनता पार्टी' (सिजेपी) को आन्दोलन चर्किएपछि दिल्ली मेट्रो रेल कर्पोरेसनले सुरक्षाको कारण देखाउँदै मध्य दिल्लीका १६ वटा मेट्रो स्टेसन अस्थायी रूपमा बन्द गरेको छ।
स्टेसनका प्रवेश र निकास द्वारहरू एक्कासि बन्द गरिएपछि कार्यालय जाने कर्मचारी, विद्यार्थी र सर्वसाधारण यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।
राजीव चोक, सेन्ट्रल सेक्रेटारियट, मन्डी हाउस, आइटिओ र खान मार्केट जस्ता व्यस्त स्टेसनहरू बन्द भएपछि यात्रुहरू वैकल्पिक यातायातका साधन खोज्न र रूट परिवर्तन गर्न बाध्य भएका छन्।
कर्पोरेसनले सामाजिक सञ्जाल 'एक्स' मार्फत जानकारी दिँदै यात्रुहरूलाई स्टेसन बाहिर निस्कन वा प्रवेश गर्न नदिए पनि मुख्य स्टेसनहरू — राजीव चोक, मन्डी हाउस र सेन्ट्रल सेक्रेटारियटमा अन्य लाइनको रेल फेर्ने सुविधा भने यथावत् राखिएको जनाएको छ।
संसदको जारी मनसुन अधिवेशनबीच जन्तर-मन्तरमा हजारौं विद्यार्थी तथा प्रदर्शनकारीहरू भेला भई संसदतर्फ अघि बढ्न खोजेपछि दिल्ली प्रहरीको सिफारिसमा रेल कर्पोरेसनले यो कदम चालेको हो।
यसबीच जन्तर-मन्तरमा हजारौंको संख्यामा प्रदर्शनकारीहरू भेला भइरहेका छन्। माग पूरा नभए 'लाखौं जनता सडकमा ओर्लिने' सिजेपी प्रवक्ता आशुतोष रांकाले चेतावनी दिएका छन्।
आन्दोलन चर्किँदै गएपछि र विभिन्न राजनीतिक दलहरूले प्रदर्शन जारी राखेपछि गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल (सिआरपिएफ) का थप २० कम्पनी तुरून्त दिल्लीमा खटाउन आदेश दिएको छ। एक कम्पनीमा १०० जवान हुन्छन्।
ती जवानहरूलाई बंगालबाट एयरलिफ्ट गरी दिल्ली ल्याइँदैछ।
अहिले दिल्लीस्थित संसद भवन, रफी मार्ग, कनेक्ट प्लेस र जन्तर-मन्तर वरपर ठूलो संख्यामा ब्यारिकेड बनाएर सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ।
उता नीट (राष्ट्रिय योग्यता) परीक्षामा भएको भनिएको अनियमितता र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनरत 'कक्रोच जनता पार्टी' (सिजेपी) ले सरकारसँग 'तटस्थ स्थान' मा वार्ता गर्न तयार रहेको जनाएको छ।
पार्टीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालय वा निवासमा नभई जन्तर-मन्तर वा 'कन्स्टिट्युसन क्लब अफ इन्डिया' जस्ता तटस्थ स्थलमा वार्ता हुनसक्ने बुधबार बताएका छन्।
सिजेपी प्रतिनिधिमण्डलले केन्द्रीय मन्त्री जेपी नड्डासँग भेट्ने सम्भावना छ।