दिल्लीको जन्तर-मन्तरमा जारी 'कक्रोच जनता पार्टी' (सिजेपी) को विशाल प्रदर्शनबीच २५औं दिनदेखि अनसनरत वातावरणविद् तथा सामाजिक अभियानी सोनम वाङचुकले सरकारसँग नयाँ सर्त राखेका छन्।
आन्दोलनरत प्रदर्शनकारीहरूमाथि कुनै पनि कानुनी कारबाही नगर्ने आश्वासन केन्द्र सरकारले दिएमा आफू अनसन तोड्न तयार रहेको वाङचुकले घोषणा गरेका हुन्।
नीट (राष्ट्रिय योग्यता परीक्षा) प्रश्नपत्र लीक प्रकरणलाई लिएर आमरण अनसनमा बसेका वाङचुकको भोक हड्ताल बुधबार २५औं दिनमा पुगेको छ।
उनले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहलाई सम्बोधन गर्दै लेखेको पत्रमा सरकारका तर्फबाट सकारात्मक आश्वासन आएमा आफूले अनसन समाप्त गर्ने र आन्दोलनरत विद्यार्थीहरूलाई पनि विरोध कार्यक्रम स्थगित गरी सरकारसँग वार्तामा बस्न आग्रह गर्ने स्पष्ट पारेको बिबिसी हिन्दीले लेखेको छ।
'हिजो राति अस्पतालमा मलाई भेट्न आउनुभएको र अनसन रोक्न अपिल गर्नुभएकोमा धन्यवाद। हाम्रो कुराकानीका क्रममा तपाईंहरूले मलाई सरकारले निम्न मुद्दाहरूमा सकारात्मक रूपमा विचार गर्ने विश्वास दिलाउनुभएको थियो,' उनले लेखेका छन्, 'प्रश्नपत्र लीक भएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति दिइनेछ। उत्तरदायित्व सुनिश्चित गर्न संसदमा सार्थक छलफल हुनेछ, जसमा माननीय शिक्षामन्त्रीको राजीनामाको विषयमा विचार गर्ने समेत समावेश छ।'
उनी अगाडि लेख्छन्, 'यदि सरकारले यस्तो लिखित वा औपचारिक आश्वासन दिन्छ भने, सरकारले मेरो अपिल मात्र नसुनेर लाखौं युवा भारतीयहरूको आकांक्षा पनि बुझेको छ भन्ने विश्वासका साथ म अनसन तोड्नेछु। तर यस्तो आश्वासन नआएमा म अनिश्चितकालीन अनसन जारी राख्न बाध्य हुनेछु।'
वाङचुकले आन्दोलन दबाउन प्रहरी बलको अत्यधिक प्रयोग पुनः नदोहोर्याइने आशा पनि व्यक्त गरेका छन्।
यसबीच सिजेपीको 'संसद चलो' मार्चका क्रममा प्रदर्शनकारी विद्यार्थीमाथि दिल्ली प्रहरीले अत्याधिक बल प्रयोग (लाठीचार्ज) गरेको भन्दै दर्ता भएका दुई वटा जाहेरीमाथि दिल्ली उच्च अदालतले सुनुवाइ सुरू गरेको छ।
अदालतले प्रहरी दमनबारे केन्द्र सरकार र दिल्ली प्रहरीसँग औपचारिक जबाफ माग गर्दै घटनाको थप सुनुवाइका लागि सेप्टेम्बर ११ को मिति तय गरेको छ।
सोमबार सिजेपीको नेतृत्वमा हजारौं प्रदर्शनकारीहरू नीट परीक्षामा भएको धाँधलीको छानबिन र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै जन्तर-मन्तरमा भेला भई संसद भवनतर्फ अघि बढेका थिए। कडा सुरक्षा घेरा तोड्न खोज्दा प्रहरी र आन्दोलनकारीबीच भिडन्त भएको थियो।