नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले प्रधानमन्त्री वालेन्द्र शाहलाई देवानगंज घटनाको पाँच दिनपछि टेलिभिजनको स्क्रिनमा देख्न पाइएको भन्दै खुसी व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री शाहले सुनसरीको देवानगंजमा भएको द्विपक्षीय झडपको पाँच दिनपछि राष्ट्रको नाममा सम्बोधन गर्दै धार्मिक सद्भाव कायम राख्न आग्रह गरेका थिए।
सांसद शर्माले प्रधानमन्त्री शाह सिंहदरबारको कोठाभित्र के गरेर बसेको हो भन्दै प्रश्नसमेत गरिन्।
'छिमेकीले सीमा मिच्दा, देशमा साम्प्रदायिक सद्भाव भड्किदाँ, बेरोजगराहरूले आशा गुमाएर आत्मदाह गर्दा र सुकुमबासीहरूले गाँस बाँस नपाएर छटपटाउँदा र मिटरब्याज, लघुवित्त पीडित र स्वास्थ्यकर्मी माइतीघरमा धर्नामा बसेकाहरुको माग सुन्न र दु:खमा परेको घाउको मलमपट्टी लगाउन पुग्नुपर्ने प्रधानमन्त्री सिंहदरबारको कोठा भित्र के गरेर बसिराख्नु भएको छ', शर्माले भनिन्, 'उहाँ न राजनीतिक दलसँग संवादमा हुनुहुन्छ। न त अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध सुधार गरेको देखिन्छ। न त सार्वभौम जनप्रतिनिधि संस्थाप्रति उत्तरदायी भएको देखिन्छ।'
उनले सुशासन र समृद्धिको नारामा खडा भएको सरकारले उद्योग व्यवसायी र निर्माण व्यवसायीहरूलाई खोजी खोजी तर्साउने र आतंकित बनाएको उल्लेख गर्दै यस्ता कार्यले अर्थप्रणाली सुधार नहुने बताइन्।
साथै सरकारले स्वतन्त्र न्यायपालिकाको हुर्मत लिने काम गरेको उल्लेख गरिन्।
शर्माले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति २ महिना २ दिन पुग्दासमेत रेकर्डबाट नहटाइएकोमा प्रश्न गरिन्।
'२ महिना २ दिन पुगेछ। प्रधानमन्त्रीले रोष्टमबाट उभिएर नेपालले पनि भारतीय भूमी मिचेको छ भन्नुभएको', शर्माले भनिन्, 'हामीले जवाफ मागिरहेका छौँ। मानौँ कि हाम्रो नियमित काम हो तर हामीले राष्ट्रियताको सवालमा उठाएको प्रश्नलाई प्रधानमन्त्रीले नअजरअन्दाज गरी अपमानित र अपहेलित गरिराख्नुभएको छ।'
उनले प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ नआउँदा र संसदको रेकर्डबाट नहट्दासम्म विरोध जारी राख्ने बताइन्।