अमेरिका-इरान युद्धका कारण तनाव बढिरहेको बेला खाडी क्षेत्रका परराष्ट्र मन्त्रीहरूले स्ट्रेट अफ हर्मुजबाट हुने जल यातायातलाई अस्थायी रूपमा व्यवस्थापन गर्न इरानसँग छलफल गर्ने भएका छन्।
ओमान र इरानको प्रयासमा सो भेट हुन लागेको भनेर फाइनान्सियल टाइम्सले जनाएको छ। अहिले नै निश्चित नभए पनि धेरै राष्ट्रहरूले सहभागिता पक्का गरिसकेकाले सो बैठक सोमबार ओमानको तटीय शहर सलालाहमा हुने कार्यक्रम छ।
फेब्रुअरी अन्त्यमा अमेरिका र इसराइलले संयुक्त रूपमा इरान विरुद्ध युद्ध सुरु गरेयता छ-सदस्यीय खाडी सहयोग परिषद (जिसीसी) का विदेश मन्त्रीको इरानसँग यो पहिलो भेटघाट हुनेछ।
इरान र ओमानले दुई साताअघि मात्रै एउटा अस्थायी सम्झौतालाई अन्तिम रूप दिइरहेको बताएका थिए। त्यस अनुसार पानीजहाजहरू इरानी जलक्षेत्रबाट हर्मुजमा प्रवेश गर्ने र मुख्यतया ओमानी भूभाग हुँदै बाहिरिने छन्। तर हर्मुज पूर्ण रूपमा खोल्नका लागि अमेरिका र इरानबीच सम्झौता हुनु पर्नेछ।
पछिल्ला केही दिनमा अमेरिका र इरानले एक अर्कामाथि प्रहार गरिरहेका छन्। त्यस्तै इरानले चलाउने यमनको हुथी समूहले पनि मंगलबार साउदी अरबका तेल खानी लगायत ऊर्जा पूर्वाधार र सहरहरूमा आक्रमण गरेको थियो।
यसरी तनाव बढ्दा कच्चा तेलको भाउ अकासिएर प्रति ब्यारेल एक सय डलर नाघेको छ। यस्तो बेलामा हर्मुजलाई अस्थायी रूपमा खुलाउन खाडी राष्ट्रहरूले इरानसँग छलफल गर्न लागेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)