नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (ईजिपी) बन्द गर्न लागेको जानकारीमा भएको भन्दै सरकारसँग जबाफ माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले इजिपी प्रणाली ह्याक भएको भन्दै सरकारले बन्द गर्न लागेको सूचना प्राप्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
'विद्युतीय खरिद प्रणालीमा ह्याक भएको भनेर यसलाई बन्द गर्न खोज्दैछ भन्ने कुरा सुनेका छौं। त्यसकारण सबै सरोकारवालाहरुको तर्फबाट सरकारलाई के आग्रह गर्न चाहान्छु भने इजिपी सिस्टम तत्काल खुलाइयोस्, पूर्ण सञ्चालनमा ल्याइयोस्,' उनले भने।
ह्याक भएको भए ह्याकिङमा संलग्नहरुलाई छानबिन गरी आवश्यक कारबाही गर्न पनि उनले माग गरेका छन्।
'पुराना कोडहरुले यो सिस्टम चल्दैन भनेर केहीले बिचौलिया तथा कर्मचारीहरु र व्यवसायीहरुको समेत मिलेमतोमा सरकारलाई प्रभावमा पारेर यो इजिपी सिस्टमलाई नै कोल्याप्स गर्न खोजिँदैछ। त्यसको ठाउँमा नयाँ ल्याउने तयारी भइरहेको भन्ने कुरा पनि जानकारीमा आएको छ। त्यसो नहोस्। यदि त्यसो भयो भने डिजिटल शासनको कुरा गरेर आएको सरकार, समृद्धि र सुशासन ल्याउँछौँ भनेर आएको सरकार फेरी कागजी युगमा फर्किनुजस्तो बिउडम्बना केही पनि होइन,' उनले भने।