नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १५ औं महाधिवेशन गर्न अडिग रहेको बताएका छन्।
उनले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन हुने बताएका हुन्।
‘१४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशनको तयारीतर्फ हामी अगाडि बढिसकेका छौँ। काँग्रेसको चाहना विशेष महाधिवेशन थिएन। कसैको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न विधि र नियम मिच्नु उचित हुँदैन। राजनीतिक मुद्दा र एजेण्डा पार्टीले नै तय गर्ने हो भने न्यायिक विषय अदालतले हेर्ने हो,’ गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भने, ‘जस्तोसुकै परिस्थितिमा पनि १४ औँ महाधिवेशनबाट १५ औँ महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्न हामी अडिग छौँ।’
पार्टीको विधान र नेपालको संविधानको भावना तथा मर्मअनुसार महाधिवेशन सम्पन्न गर्दै विधिको शासन, जनताको अधिकार र राष्ट्रको हितको रक्षा गर्नु दायित्व हुने पनि उनले बताए।
कांग्रेस लोकतन्त्र र न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने पनि उनले बताए।
‘बिपी कोइराला र गणेशमान सिंहले २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्कदासमेत आफ्नो राजनीतिक उद्देश्य र राष्ट्रियताको सवाललाई प्राथमिकतामा राख्नुभयो। २०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसंग्रहमा पञ्चायतले जिते पनि कांग्रेस आफ्नो लोकतान्त्रिक मान्यताबाट पछि हटेन। त्यसकै निरन्तरतामा २०४६ सालमा परिवर्तन सम्भव भयो। आज पनि काँग्रेसले आफ्नो विधि, नियम र लोकतान्त्रिक मूल्य–मान्यताको उदाहरण प्रश्तुत गर्नुपर्छ,’ उनले भने।