गिरिजाप्रसाद कोइराला जीवित रहुन्जेल उनकै वरिपरि थिए शेखर कोइराला र कृष्णप्रसाद सिटौला।
२०६२–६३ को जनआन्दोलन र शान्ति प्रक्रिया चलिरहँदा गिरिजाबाबुको प्रतिनिधि बनेर सिटौला सक्रिय थिए। उनीहरूको टिमका अभिन्न सदस्यजस्तै थिए शेखर।
गिरिजाबाबुको निधनपछि यी दुई नेता नदीका दुई किनाराजस्तै भए। सिटौला शेरबहादुर देउवासँग नजिकिए, शेखरले भने लामो समयसम्म देउवालाई चुनौती दिइरहे।
यद्यपि गएको पुसको विशेष महाधिवेशन यस्तो घुम्ती साबित भयो, जसले देउवा र शेखरलाई एकै ठाउँमा उभ्याइदियो। सिटौला पनि यी दुई नेता उभिएकै ठाउँमा छन्। यद्यपि मोरङका शेखर र झापाका सिटौला आफ्नै गृहजिल्लामा एक्लिने अवस्थामा पुगेका छन्।
केही दिन अघिसम्म शेखर र सिटौलाको साथमा रहेका उनीहरूकै गृह जिल्लाका नेताहरू, लामो समयदेखिका विश्वासपात्रहरू सबैले उनीहरूको साथ छाडेका छन्।
शेखर कोइरालाले बिहीबार विज्ञप्तिमार्फत कांग्रेसको १५औँ महाधिवेशन रोक्दै संवाद र सहमतिको बाटो खोज्न आग्रह गरेका छन्।
कोइरालाले फेरि मध्यमार्गको प्रस्ताव अघि सारेका छन्। तर, पार्टी एकता जोगाउन वार्ताको आह्वान गरिरहेका शेखर आफ्नै गृहप्रदेश कोशी र गृहजिल्ला मोरङमा भने पूरै एक्लिने अवस्थामा पुगेका छन्।
विशेष महाधिवेशन अघिसम्म कांग्रेसको कोशी प्रदेशदेखि संसदीय दलसम्म, जिल्ला समितिदेखि स्थानीय तहका पार्टी संरचनासम्म बलियो प्रभाव भएका सिटौलाले आफ्नै निर्वाचन क्षेत्रमा पनि एक्लिने अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको छ।
‘उहाँहरूले भनेसम्म साथ दिँदै आएका हौं तर जे गर्दा पनि चित्त नबुझाउने, पार्टी फुटाउनैतिर लाग्ने संकेत देखिएपछि उहाँको साथ छाड्न बाध्य भइयो,’ लामो समय सिटौलाकै साथमा रहेका झापा कांग्रेसका एक पदाधिकारीले भने, ‘हेरौं असोज १६ सम्म उहाँ पनि आउनुहोला। आउनुभएन भने त्यो भूल हुनेछ।’
बिहीबार मात्रै सिटौलासमेत सहभागी रहेको देउवा पक्षका नेताहरूको ठूलो समूह सानेपा फर्किएको छ।
विशेष महाधिवेशनमा सहभागी नभएका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समायोजन गर्ने निर्णयपछि देउवा पक्ष र शेखर पक्षका नेताहरू केन्द्रीय बैठकमा सहभागी भएका हुन्।
कोशीबाट पनि यसरी मूल कांग्रेसको संरचनामा फर्किने नेताहरूको संख्या उल्लेख्य छ।
विगतमा देउवा पक्षमा रहेका मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, सरस्वती बजिमय, उमेशजंग रायमाझी, सीता गुरूङ, प्रदीपकुमार सुनुवार, भीम पराजुलीलगायत नेता बिहीबारको बैठकमा सहभागी भए।
त्यसभन्दा केही समयअघि नै लक्ष्मी परियार, आङ्गेलु शेर्पा र राजीव ढुंगानाले पनि देउवा समूह छाडेर गगन थापा नेतृत्वको संरचनामा समाहित हुने बाटो रोजेका थिए।
शेखर समूहबाट रुक्मिणी कोइरालाले शेखरको साथ छाडेकी छन्। यसअघि सुजाता कोइराला, राजीव कोइरालालगायत नेता पनि शेखर समूहबाट अलग भएका थिए।
शेखरका लागि आफ्नै गृहजिल्ला मोरङमै प्रतिकूल देखिएको छ।
सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे नै संस्थापनतिर सक्रिय भइसकेका छन्। विराटनगर महानगरका मेयरसमेत रहेका मोरङ उपसभापति नागेश कोइराला, पूर्वमुख्यमन्त्री केदार कार्की र महानगर सभापति दीपक चापागाइँ मात्रै अहिले शेखरको साथमा छन्।
‘स्थानीय पालिकाका समितिहरू सबै असोजको महाधिवेशनका लागि सक्रिय भइसकेका छन्,’ कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले भने, ‘को कता भन्ने कुरा छाडौं। हामी मोरङको सिंगो कांग्रेस पार्टीले आह्वान गरेको महाधिवेशन सफल पार्न लागेका छौं।’
कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसद छन्।
तीमध्ये केदार कार्की, भूपेन्द्र राई, भूमिप्रसाद राजवंशी र रामकुमार खत्री मात्रै संस्थापनइतरतर्फ देखिएका छन्। उनीहरूमध्ये झापाका राजवंशी सिटौलाकै गृहक्षेत्र (झापा ३) का हुन्।
पार्टीभित्र कोशीमा लामो समय प्रभाव राखेका सिटौलाको अवस्था पनि शेखरको भन्दा फरक छैन। देउवा–सिटौला समीकरणमा रहेका कोशीका धेरै नेता अहिले गगन थापा नेतृत्वको मूल कांग्रेसमा पुगेका छन्। झापामा पनि सिटौलानिकट रहेका नेताहरू पछिल्लो समय गगनतर्फ खुल्न थालेका छन्।
विशेष महाधिवेशनमै झापाका पूर्वसभापति सुधीर शिवाकोटी गगन पक्षमा खुलेका थिए। लगत्तै प्रदेश सभापति उद्धव थापा, झापा सभापति देउमान थेबे, उपसभापति केशवराज पाण्डे, सचिव नवीन विमली, झापा ३ का क्षेत्रीय सभापति गणेश पोखरेललगायत नेताहरू पनि संस्थापनतर्फ खुलेका छन्।
कांग्रेसले १५औँ महाधिवेशनका लागि असोज १६ देखि १९ गतेसम्मको मिति तोकेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार वडा अधिवेशनदेखि प्रदेश अधिवेशनसम्मका प्रक्रिया अघि बढिसकेका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ। शेखरले भने दुवै महाधिवेशनमा सहभागी नहुने बताउँदै आएका छन्।