नेपाली कांग्रेसले भोलि शनिबार र पर्सि वडा अधिवेशन गर्दैछ।
सबै वडाहरूमा निर्वाचन अधिकृत पुगिसकेका छन् र अधिवेशन तयारी अन्तिम चरणमा पुगेको छ।
तर यसबीचमा ४ जिल्ला सभापतिहरूले अधिवेशन प्रक्रिया अघि बढाउन मानेका थिएनन्।
ती जिल्ला सभापतिहरू निवर्तमान सभापति शेरबहादुर देउवानिकट हुन्।
यो पनि- अब देउवा र शेखरसँग कति नेता बाँकी?
सुरूमा मुगु सभापति ऐनबहादुर शाही, बागलुङ सभापति जित शेरचन, बझाङ सभापति खड्कबहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, कञ्चनपुर सभापति पदम बोगटीले अधिवेशन प्रक्रिया सुरू गर्न मानेका थिएनन्।
‘यीमध्ये बझाङ सभापतिले अधिवेशनका काम अघि बढाउँछु भन्नुभयो र उहाँलाई काम गर्न दिइएको छ,’ कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सेतोपाटीसँग भने, ‘अरू ४ जिल्लामा कार्यसमितिका अरू साथीहरूलाई अधिवेशन प्रक्रिया अघि बढाउने गरी जिम्मेवारी तोकेका छौं।’
यी ४ जिल्ला सभापतिलाई बर्खास्त भने गरिएको होइन।
‘उहाँहरूले अधिवेशन गराउन सकिँदैन भन्नुभयो त्यसैले कार्यसमितिकै अर्को साथीलाई अधिवेशन गराउने जिम्मेवारी दिइएको हो, उहाँहरूलाई सभापतिबाट हटाइएको भने छैन,’ उनले भने।
यसअघि कांग्रेसले क्रियाशील अद्यावधिक सुरू नगर्ने वडा तथा क्षेत्रीय सभापतिहरूलाई पनि जिम्मेवारीविहीन बनाएको थियो।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेका छन्।