राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातवटै प्रदेशको अधिवेशन एकैदिन गर्ने भएको छ।
राप्रपाले असोज २१ गते प्रदेश अधिवेशन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको राप्रपा जिल्ला अधिवेशन करिब सकेर अब प्रदेश अधिवेशनको तयारीमा जुटेको हो।
राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको प्रवक्ता श्रेष्ठ बताउँछन्।
भदौ मसान्तसम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाएको राप्रपाले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई असोज १५ गतेसम्म अधिवेशन गर्न समय दिएको छ। त्यसैगरी अधिवेशन गर्न बाँकी रहेका जुम्ला र धनकुटालाई पनि असोज १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने अवसर दिइएको छ।
प्रदेश अधिवेशनलाई व्यवस्थित बनाउन राप्रपाको केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन प्रतिनिधि खटाएको छ।
कोशीमा भरत पाठक, मधेसमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरूङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा श्यामबहादुर शाहीलाई केन्द्रीय निर्वाचन प्रतिनिधिको जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
राप्रपाको विधानअनुसार प्रदेश अधिवेशनमा जिल्ला अध्यक्ष तथा जिल्ला कार्यसमितिले छनोट गरेका प्रतिनिधि, प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष तथा कार्यसमितिबाट छनोट भएका प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रका अध्यक्ष तथा कार्यसमितिबाट छनोट भएका प्रतिनिधिको सहभागिता रहनेछ।
नगर तथा गाउँपालिका कार्यसमितिका अध्यक्षहरू पनि प्रदेश अधिवेशनका प्रतिनिधिका रूपमा सहभागी हुने व्यवस्था छ।
राप्रपाले केन्द्रीय महाधिवेशनका लागि सक्रिय सदस्यता वितरण तथा विवरण प्रविष्टिको कामलाई तीव्रता दिएको उनले बताए। असोज १५ गतेसम्म सक्रिय सदस्यताको आवेदन दिने र विवरण प्रविष्ट गर्ने समय तोकिएको पार्टीले जनाएको छ।
राप्रपाले सक्रिय सदस्यहरू मध्येबाट समानुपातिक तथा समावेशी आधारमा केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ। मंसिरमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै पार्टीले अहिले संगठनात्मक तयारीलाई अघि बढाइरहेको पनि प्रवक्ता श्रेष्ठले बताए।