नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमै केही पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागे।
अध्यक्ष ओलीले पार्टीलाई मनोमानी ढंगले चलाएको र यही कार्यशैलीले पार्टी अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका पदाधिकारीहरूले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।
उनीहरूले नेतृत्व हस्तान्तरण गरी अघि बढ्नुपर्ने समेत बताए।
यस्तो प्रस्ताव अघि सार्नेहरूमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङलगायत छन्।
उपाध्यक्ष गुरूङले एमालेलाई निजी कम्पनीजस्तो बनाउन खोजिएको आरोप लगाउँदै यसरी पार्टी चल्न नसक्ने भएकाले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।
‘एमाले कसैको निजी कम्पनी होइन, यसरी पार्टी चल्दैन पनि, त्यसकारण अध्यक्षले मार्गप्रशस्त गर्नुपर्छ,’ बुधबारको केन्द्रीय कमिटीमा धारणा राख्दै गुरूङले भनेका थिए।
ओलीको राजीनामा मागेका नेताहरू
अर्का उपाध्यक्ष गोकर्ण विष्ट र रघुजी पन्तले पनि पार्टी सञ्चालनको वर्तमान शैलीप्रति आपत्ति जनाएका छन्।
साथै उनीहरूले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष ओलीको राजीनामा माग गर्नेमा उपमहासचिव योगेश भट्टराई पनि हुन्।
भट्टराईले नेतृत्व हस्तान्तरणका लागि लिखित रूपमै प्रस्ताव पेस गरेका थिए।
‘उपमहासचिव योगेशजीले लिखित र मौखिक रूपमा पनि अध्यक्ष ओलीको राजीनामा माग्नुभएको थियो,’ एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने।
पार्टी सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि नेतृत्वको आलोचना गरे।
‘यही रवैया कायम रहे पार्टी झन् धराशायी हुन्छ,’ उनले भनेका थिए, ‘प्रदेश र स्थानीय तहको निर्वाचन नजिकिँदै छ। यही स्थितिमा पार्टीलाई चुनावमा अगाडि बढाउन सकिँदैन, त्यसैले अध्यक्षले मार्ग प्रशस्त गर्नुपर्छ।’
अर्का सचिव यामलाल कँडेलले ओलीको नेतृत्वमा पार्टी अब अघि बढ्न नसक्ने बताए। ‘अध्यक्ष ओलीको नेतृत्वमा एमाले एक मिनेट पनि अघि बढ्न सक्दैन,’ उनले भनेका थिए।
उनले बैठक सञ्चालन र निर्णय प्रक्रियाको शैलीप्रति पनि आपत्ति जनाएका थिए।
‘त्यसैले फेरि भन्छु, अध्यक्षलाई पदमा बसिरहने नैतिक अधिकार छैन,’ उनको भनाइ थियो।
सचिव राजन भट्टराईले पनि अहिलेकै अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने भएकाले अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए।
‘यो शैलीले, यो तरिकाले पार्टी चल्दैन। अब मार्गप्रशस्त गर्नुपर्छ,’ भट्टराईले भनेका थिए।