राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले समाचारको स्रोत खुलाउन पत्रकारलाई दबाब दिने, धम्क्याउने तथा प्रहरी लगाएर पक्राउ गर्ने कार्यप्रति आपत्ति जनाएका छन्।
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारमाथि समाचारको स्रोत खुलाउन अनावश्यक दबाब दिने र सञ्चारगृह तथा समाचार कक्षमै प्रवेश गरेर पक्राउ गर्ने कार्य लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मर्मविपरीत रहेको उनले बताएका छन्।
समाचार गलत भए तथ्य र प्रमाणका आधारमा प्रश्न उठाउन तथा प्रचलित कानुनबमोजिम जवाफदेही बनाउन सकिने उनको भनाइ छ। तर, समाचारको स्रोत खुलाउन दबाब दिने र पत्रकारलाई त्रसित बनाउने कार्य स्वीकार्य नहुने उनले उल्लेख गरेका छन्।
पत्रकारले निर्भीकतापूर्वक काम गर्न पाउने वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताउँदै श्रेष्ठले पत्रकारको हुर्मत लिने, धम्क्याउने र स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने कार्य तत्काल बन्द गर्न माग गरेका छन्।