सेन्टर फर मिडिया एड्भोकेसीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने, खोजी गर्ने तथा ‘माथिको आदेश’ भन्दै सञ्चारकर्मी र सञ्चारगृहमा त्रास सिर्जना गर्ने घटनाको घोर निन्दा गरेको छ।
संस्थाका अध्यक्ष नकुल अर्यालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा समाचार कक्षमै प्रहरी पुगेर पत्रकारमाथि दबाब र धरपकड गर्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा विधिको शासन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाका अनिवार्य सर्त भएको उल्लेख गर्दै नेपालको संविधानले स्वतन्त्रताको हक, सञ्चारको हक र सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराइएको छ।
पत्रकारिता राज्यको निगरानी गर्ने, सत्तालाई प्रश्न गर्ने र नागरिकलाई सुसूचित गराउने लोकतान्त्रिक माध्यम भएको उल्लेख गर्दै संस्थाले समाचारप्रति असहमति वा आपत्ति भए कानुनसम्मत प्रक्रिया अवलम्बन गर्न सकिने जनाएको छ। तर, समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, समाचार कक्षमा प्रहरी पठाउने र ‘माथिको आदेश’का नाममा दबाब सिर्जना गर्ने कार्य संविधानको मर्म र विधिको शासनविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ।
संस्थाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल रोक्न र यस्ता घटनामा संलग्न अधिकारीलाई जवाफदेही बनाउन सरकार तथा प्रहरी प्रशासनसँग आग्रह गरेको छ। साथै, पत्रकारको पेसागत तथा संवैधानिक अधिकारको सम्मान गर्न पनि माग गरेको छ।
प्रेस स्वतन्त्रता तथा नागरिकका मौलिक अधिकारमाथि हुने हस्तक्षेपविरुद्ध सचेत र एकताबद्ध भएर खबरदारी गर्न संस्थाले लोकतन्त्रप्रेमी, विधिको शासनका पक्षधर तथा आम नागरिकलाई आह्वान गरेको छ।
‘आज प्रेसमाथि भएको हस्तक्षेप भोलि आम नागरिकको बोल्ने, लेख्ने र प्रश्न गर्ने अधिकारमाथिको हस्तक्षेप बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ।