अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एकअर्काको राजनीतिक जितमा आफ्नो भविष्य देखेका थिए।
दुवैले एकअर्काको देशमा भएको निर्वाचनमा खुलेर समर्थन जनाए। तर परिणाम उनीहरूले चाहेजस्तो आएन। इसराइलमा नेतन्याहूको गठबन्धनले सरकार बनाउन बहुमत पाएन भने अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदन गुमायो।
वर्षौंदेखि एकअर्काका निकट सहयोगीका रूपमा प्रस्तुत हुँदै आएका यी दुई नेताका लागि यो दोहोरो राजनीतिक धक्का हो।
तर यसको असर उनीहरूको व्यक्तिगत सम्बन्धमा मात्र सीमित रहने छैन। अमेरिकाले इसराइललाई दिँदै आएको सैन्य सहयोग, मध्यपूर्वमा उसको भूमिका र इरानसँग जारी युद्धको भविष्यसमेत यसबाट प्रभावित हुन सक्छ।
अक्टोबर २७ मा भएको इजरायली संसदीय निर्वाचनमा नेतन्याहू नेतृत्वको दक्षिणपन्थी गठबन्धनले ५३ सिट मात्रै जितेको थियो। सरकार बनाउन ६१ सिट आवश्यक पर्छ।
यता मंगलबार भएको अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गर्यो।
निर्वाचनअघि ट्रम्पले इसराइली मतदातालाई नेतन्याहूको पक्षमा उभिन आग्रह गरेका थिए। नेतन्याहूले पनि अमेरिकी मतदातालाई ट्रम्पको समर्थन गर्न अपिल गरेका थिए। दुवैले आफ्नो राजनीतिक सम्बन्धलाई एकअर्काको जितसँग जोड्न खोजेका थिए।
तर अहिले उनीहरू दुवै आफ्नै देशमा राजनीतिक चुनौतीको सामना गरिरहेका छन्। अमेरिकी निर्वाचन परिणामले ट्रम्पको घरेलु राजनीतिक शक्ति कमजोर बनाएको छ भने इसराइलमा नेतन्याहूलाई फेरि सरकार गठन गर्न कठिन भएको छ।
कतारी मिडिया अल जजिराका अनुसार अमेरिकी मतदाताको असन्तुष्टिको एउटा प्रमुख कारण इरान युद्ध र इसराइललाई दिइँदै आएको समर्थन पनि हो।
गत फेब्रुअरीको अन्त्यमा ट्रम्प र नेतन्याहूले मिलेर इरानमाथि सैन्य अभियान सुरु गरेका थिए। त्यसपछि इरानले प्रत्याक्रमण गर्यो र युद्ध आठ महिनादेखि जारी छ।
युद्धका कारण विश्वभर ऊर्जा आपूर्ति प्रभावित भएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेको छ। यसको आर्थिक भार अमेरिकी उपभोक्ताले पनि बेहोर्नुपरेको छ। ट्रम्पले समेत इरान युद्धका कारण रिपब्लिकन उम्मेदवारलाई चुनावमा नोक्सान पुगेको स्वीकार गरेका छन्।
यसरी नेतन्याहूसँगको निकट सम्बन्ध र इरान युद्ध ट्रम्पका लागि विदेश नीतिको विषय मात्रै रहेन। त्यो अमेरिकी मतदाताले आफ्नो दैनिक जीवनसँग जोडेर हेर्ने राजनीतिक मुद्दा बन्यो।
अमेरिकी संसदमा इसराइललाई दिइने सहयोगमाथि प्रश्न उठ्न सक्ने
अमेरिकी निर्वाचन परिणामको सबैभन्दा ठूलो प्रभाव इसराइललाई दिइँदै आएको अमेरिकी सहयोगमा पर्न सक्ने देखिएको छ।
अमेरिकामा दशकौँदेखि इसराइललाई रिपब्लिकन र डेमोक्रेटिक दुवै दलको समर्थन रहँदै आएको छ। तर पछिल्ला वर्षमा डेमोक्रेटिक पार्टीभित्र इसराइलप्रतिको समर्थन घट्दै गएको छ। गजामाथिको सैन्य कारबाही र अहिले इरानसँगको युद्धले यो दूरी थप बढाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यसपटक निर्वाचित भएका डेमोक्रेटिक सांसदहरूमध्ये धेरैले इसराइललाई दिइने सैन्य सहायता रोक्नुपर्ने र इरानसँगको युद्ध अन्त्य गर्नुपर्ने मुद्दा उठाएका थिए। अब दुवै सदनमा बहुमत पाएपछि उनीहरूले इसराइलको सैन्य कारबाही, गजा र पश्चिम किनारमा भएका घटनाबारे अमेरिकी संसदमा थप छानबिन अघि बढाउन सक्छन्।
यसको अर्थ अमेरिकाले तत्कालै इसराइलसँगको सैन्य सम्बन्ध तोड्छ भन्ने होइन। ट्रम्पसँग कानुनमा भिटो लगाउने अधिकार अझै छ। त्यसैले डेमोक्रेटिक पार्टीले चाहँदैमा अमेरिकी नीतिमा तत्काल ठूलो परिवर्तन गर्न सक्ने अवस्था छैन। तर उसले सैन्य सहयोगसम्बन्धी निर्णयमा प्रश्न उठाउन, सरकारी अधिकारीलाई संसदीय सुनुवाइमा बोलाउन र हतियार बिक्रीका विषयमा दबाब दिन सक्छ।
रोयटर्सले अमेरिकी संसदमा इसराइललाई दिइँदै आएको समर्थनमाथि दशकौँयताकै ठूलो पुनर्विचार हुन सक्ने उल्लेख गरेको छ। यसमा डेमोक्रेटिक सांसदसँगै रिपब्लिकन पार्टीभित्रको ‘अमेरिका फर्स्ट’ धारको असन्तुष्टिले पनि भूमिका खेल्न सक्छ। उपराष्ट्रपति जेडी भान्सले समेत चुनावी हारपछि असन्तुष्ट मतदातालाई फर्काउन इसराइलसँगको सम्बन्ध बदल्नुपर्ने बताएका छन्।
इरान युद्धमा अब ट्रम्पले सम्झौता खोज्लान् कि आक्रमण चर्काउलान्?
अमेरिकी निर्वाचनको अर्को महत्वपूर्ण प्रभाव इरान युद्धमा पर्न सक्छ।
कंग्रेसमा नियन्त्रण गुमाएपछि ट्रम्पलाई युद्ध जारी राख्न घरेलु राजनीतिक समर्थन जुटाउन कठिन हुन सक्छ। युद्धका कारण इन्धनको मूल्य बढेको र त्यसले अमेरिकी जनजीवनमा आर्थिक दबाब थपेको विषय निर्वाचनमा उठेको थियो।
रोयटर्सले खाडी क्षेत्रका सरकारहरूको सोचबारे जानकार दुई स्रोतलाई उद्धृत गर्दै निर्वाचनपछि ट्रम्पमाथि इरानसँग युद्ध अन्त्य गर्ने सम्झौता खोज्न दबाब बढ्न सक्ने जनाएको छ। उनीहरूका अनुसार अब अर्को ठूलो सैन्य आक्रमण गर्ने सम्भावना पनि कम हुन सक्छ।
तर युद्ध चाँडै अन्त्य हुन्छ भन्ने निश्चित छैन। ट्रम्पको चुनावी हारलाई इरानले अमेरिकी दबाब कमजोर भएको संकेतका रूपमा बुझ्न सक्छ। त्यसो भए इरानले आफ्नो अडान थप कडा बनाउन सक्छ र युद्ध फेरि चर्किन पनि सक्छ।
संयुक्त अरब इमिरेट्सस्थित एमिरेट्स पोलिसी सेन्टरकी इब्तेसाम अल केतबीले इरानले ट्रम्प सम्झौता गर्न चाहन्छ भन्ने बुझेर वास्तविक अवसरका रूपमा लिए युद्ध अन्त्य हुन सक्ने बताएकी छन्। तर अमेरिकी कमजोरी ठानेर अघि बढे त्यसले नयाँ सैन्य तनाव निम्त्याउन सक्ने उनको भनाइ छ।
यसको अर्थ निर्वाचनले युद्ध अन्त्य गर्ने निर्णय गरिसकेको छैन। ट्रम्पसँग अझै सैन्य कारबाही जारी राख्ने कार्यकारी अधिकार छ। तर अब त्यसको राजनीतिक र आर्थिक मूल्य उनले आफ्नै देशभित्र पनि चुकाउनुपर्नेछ। त्यसैले इरानसँग सम्झौता गर्ने कि सैन्य दबाब बढाउने भन्ने निर्णयमा निर्वाचनको परिणाम महत्वपूर्ण हुन सक्छ।
अमेरिकी निर्वाचन परिणामले इरानलाई पनि वार्तामा आफ्नो अडान बलियो बनाउने अवसर दिन सक्ने विश्लेषण गरिएको छ। तर ट्रम्पले घरेलु राजनीतिक दबाब कम गर्न इरानमाथि थप सैन्य कारबाही गरेर आफ्नो शक्ति देखाउन खोज्ने सम्भावना पनि पूर्ण रूपमा हटेको छैन। त्यसैले युद्धको भविष्य ट्रम्पले निर्वाचन परिणामलाई कसरी लिन्छन् र इरानसँगको वार्तामा कस्तो बाटो रोज्छन् भन्नेमा निर्भर हुनेछ।
नेतन्याहूका लागि ट्रम्पको साथ अब कति उपयोगी?
ट्रम्पको पराजयले नेतन्याहूलाई अर्को अप्ठ्यारोमा पारेको छ। उनले वर्षौंदेखि आफूलाई अमेरिकाको बलियो समर्थन प्राप्त नेता भन्दै आएका थिए। तर अमेरिकामा ट्रम्पको राजनीतिक प्रभाव कमजोर भएपछि नेतन्याहूको त्यही सम्बन्ध अब इसराइलभित्रै आलोचनाको विषय बनेको छ।
रोयटर्सका अनुसार इसराइलका विपक्षी नेताहरूले अमेरिकामा दुवै सदन गुमाउनु नेतन्याहूले अमेरिकी दलहरूबीच रहँदै आएको इसराइलप्रतिको साझा समर्थन कमजोर बनाएको प्रमाण भएको बताएका छन्। उनीहरूले अमेरिकासँगको सम्बन्ध बिगारेको आरोप लगाउँदै नेतन्याहूलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने मागसमेत अघि सारेका छन्।
ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब ३ अर्ब ८० करोड डलर सैन्य सहयोग सन् २०२६ को अन्त्यपछि बन्द गर्ने सहमति नेतन्याहूसँग भएको बताएका छन्। तर त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने स्पष्ट छैन। अमेरिकाले सन् २०२८ सम्मका लागि इसराइललाई सैन्य सहायता दिने सम्झौता गरेको छ। त्यसैले ट्रम्पको घोषणाले मात्रै यो सहयोग तत्काल बन्द हुने अवस्था छैन।
इसराइलका लागि आर्थिक सहयोगभन्दा पनि अमेरिकी अत्याधुनिक हतियारमा पहुँच महत्वपूर्ण छ। त्यसैले अमेरिकी संसद्मा इसराइललाई दिइने सैन्य सहयोग र हतियार बिक्रीबारे हुने बहसले नेतन्याहू सरकारलाई थप दबाबमा पार्न सक्छ।
अमेरिकी निर्वाचनको अर्को महत्वपूर्ण पक्ष सन् २०२८ को राष्ट्रपतीय निर्वाचन पनि हो। डेमोक्रेटिक पार्टीभित्र इसराइलप्रतिको समर्थन घट्दै गएको र युवा मतदाताले इसराइललाई दिइने अमेरिकी सहयोगमाथि प्रश्न उठाउन थालेको विषयले आगामी अमेरिकी राजनीतिमा पनि प्रभाव पार्न सक्छ। इसराइलसँगको सम्बन्ध अब एउटा दलको मात्रै होइन, अमेरिकी घरेलु राजनीतिको साझा बहस बन्न थालेको छ।
ट्रम्प र नेतन्याहूको सम्बन्ध तत्कालै टुट्ने संकेत भने छैन। तर पहिले जस्तो अमेरिकाको राजनीतिक र सैन्य समर्थन सहजै प्राप्त हुने अवस्था कमजोर हुन सक्छ। एकअर्काको चुनावी जितमा दाउ लगाएका यी दुई नेताले अहिले आफ्नै राजनीतिक भविष्य जोगाउनुपर्ने चुनौती सामना गरिरहेका छन्।