नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भय र भ्रमबाट विचलित नहुने टिप्पणी गरेका छन्।
‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा आज बिहान लेखेका छन्।
सहमहामन्त्री शिवाकोटीले आफू पारिवारिक भ्रमणका क्रममा केही दिनदेखि भारतमा रहेकोमा साइबर ब्युरोले बोलाएको खबर पाएको र काठमाडौं आइरहेको बताए।
‘म पारिवारिक भ्रमणका क्रममा भारतमा थिएँ, मेरा दोलखाका एक साथीमार्फत् मलाई साइबर ब्युरोले बोलाएको भन्ने जानकारी पाएपछि नेपाल फर्कदैछु। अहिले झापा आइपुगेँ, अब जहाजमार्फत काठमाडौं आउँछु,’ उनले सेतोपाटीसँग भने।
कांग्रेसले भने धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको जनाएको छ।
शिवाकोटीले सामाजिक सञ्जालमार्फत नै सरकारले विधि विधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै केही दिनदेखि प्रतिक्रिया दिइरहेका थिए।
साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले सहमहामन्त्री शिवाकोटीलाई बोलाइएको विषयमा जानकारी नभएको बताए।
'यसबारेमा मलाई जानकारी छैन, कुन शाखाले दियो, कहाँबाट दियो मैले पनि बुझ्नु पर्छ,' उनले भने।