अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग छलफल गर्ने बताएका छन्।
आगामी साता चीनको सेन्जेनमा हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा दुवै नेतासँग भेटवार्ता हुन सक्ने उनको भनाइ छ।
आइतबार फ्लोरिडाको वेस्ट पाम बिचमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पुटिन र सीसँगको सम्भावित भेटमा इरान युद्धसँगै आणविक निशस्त्रीकरणलगायत विषयमा छलफल गर्ने बताए।
‘मलाई लाग्छ, एउटा भेट राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग हुनेछ। त्यो रोचक हुनेछ। हामी धेरै विषयमा कुरा गर्नेछौँ, आणविक निशस्त्रीकरण पनि त्यसमा पर्छ। हामी इरानको युद्ध अन्त्य गर्ने प्रयासमा छौँ र राम्रो गरिरहेका छौँ,’ उनको भनाइ उद्धृत गर्दै कतारी मिडिया अल जजिराले लेखेको छ।
ट्रम्पले सिबिएससँगको अन्तर्वार्तामा पनि इरान युद्ध थप चर्काउने आफ्नो तत्काल योजना नरहेको बताएका छन्।
‘म युद्ध थप चर्काउन खोजिरहेको छैन। मलाई लाग्दैन, त्यसो गर्नुपर्ने कुनै कारण छ,’ उनले भने।
उनले इरानको आणविक सामग्रीहजारौँ टन चट्टानमुनि पुरिएको दाबी गरे। इरानको पिक्याक्स माउन्टेनस्थित भनिएको आणविक केन्द्रमा अहिले निकै कम गतिविधि भइरहेको उनको भनाइ थियो।
आवश्यक परे उक्त केन्द्रमा एक घण्टाभित्रै आक्रमण गर्न सकिने तर अहिले त्यसको आवश्यकता नरहेको उनले बताए।
ट्रम्पले इरानसँग युद्ध सुरु गर्ने निर्णय सही भएको जिकिर पनि गरे। युद्ध सुरु गर्ने निर्णय फेरि गर्नुपरे पनि आफूले त्यही निर्णय गर्ने उनको भनाइ थियो।
‘यदि फेरि निर्णय गर्नुपर्यो भने मेरो जवाफ स्पष्ट रूपमा हुन्छ। इरानलाई आणविक हतियार राख्न दिन सकिँदैन,’ उनले भने।
उनले युद्ध सुरु हुनुअघि इरान सम्झौता गर्न तयार रहेको दाबीसमेत गरे।
अमेरिकी मध्यावधि निर्वाचन हुनुभन्दा ठीकअघि इरान सम्झौता गर्न चाहेको र निर्वाचन नभएको भए केही दिनभित्रै सम्झौता हुन सक्ने अवस्था रहेको उनको भनाइ थियो।
‘हामी सम्झौताको निकै नजिक थियौँ। निर्वाचन नभएको भए सम्भवतः सम्झौता भइसक्ने थियो वा केही दिनभित्रै हुने थियो,’ उनले भने।
चुनाव हार्नुको कारण युद्ध भएको ट्रम्पको स्वीकारोक्ति
ट्रम्पले इरान युद्धकै कारण मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेको उपराष्ट्रपति जेडी भान्सको विश्लेषणमा आफू असहमत नरहेको बताएका छन्।
अन्तर्वार्तामा पत्रकार डुथाटले भान्सले सामाजिक सञ्जालमा ‘हामीले हार्नुको कारण युद्ध हो’ भनेर लेखेको विषय उठाएका थिए। त्यसमा ट्रम्पले आफू भान्सको विश्लेषणसँग असहमत नरहेको बताए।
उनले मतदातालाई इरान युद्ध मन नपरेको र पेट्रोलको मूल्य बढेको विषयले पनि चुनावी नतिजामा असर पारेको बताए। इजरायलप्रति पनि अमेरिकी जनतामा असन्तुष्टि बढेको उनको भनाइ थियो।
तर युद्धका कारण चुनावमा क्षति पुगेको स्वीकार गरे पनि ट्रम्पले युद्ध सुरु गर्ने निर्णय गलत नभएको बताए। इरानलाई आणविक हतियार बनाउन नदिनु अमेरिकाको हितमा रहेको उनको तर्क थियो।
हर्मुज जलमार्ग खुला रहेको ट्रम्पको दाबी
अन्तर्वार्तामा ट्रम्पले होर्मुज जलमार्ग खुला रहेको र त्यहाँबाट जहाजहरू आवतजावत गरिरहेको दाबी गरेका छन्।
तर पत्रकारले अमेरिकी सेनाको ठूलो उपस्थितिमा मात्रै जहाजहरू आवतजावत गरिरहेको भन्दै यस्तो सुरक्षा व्यवस्था कहिलेसम्म कायम राख्ने भनेर प्रश्न गरेका थिए।
जवाफमा ट्रम्पले अमेरिकाले युद्धका क्रममा गरेको खर्च आफूले संरक्षण गरेका देशहरूले फिर्ता गर्नुपर्ने बताए।
‘हामीले संरक्षण गरेका देशहरूले युद्धमा लागेको सम्पूर्ण खर्च फिर्ता गर्नुपर्छ। हामी नभएको भए उनीहरू अस्तित्वमै रहने थिएनन्। हामी नभएको भए इजरायल पनि अस्तित्वमा रहने थिएन,’ उनले भने।
उनले एक वर्षभन्दा अघि अमेरिकी बी–२ बमवर्षक विमानले इरानका तीन आणविक केन्द्रमा गरेको आक्रमणले इजरायलको अस्तित्व जोगाएको दाबी पनि गरे। ती केन्द्रमा आक्रमण नगरेको भए इरानले आणविक हतियार बनाइसक्ने उनको भनाइ थियो।
इरान युद्धमा रक्षामन्त्री पिट हेगसेथको भूमिकाबारे प्रश्न गर्दा ट्रम्पले उनीप्रति आफ्नो विश्वास कायमै रहेको बताए। हेगसेथको राजीनामा माग्ने र महाभियोग लगाउनुपर्ने आवाज उठाउनेहरूलाई उनले आलोचना गरे।