राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले सुशासनका विषयमा पार्टीले कुन पनि सम्झौता नगर्ने बताएका छन्।
सार्वजनिक भएका विभिन्न विवादित घटनामा निष्पक्ष छानबिन हुनुपर्ने र दोषी जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने उनले बताए।
आइतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले रास्वपाको उदय नै सुशासनलाई पार्टीको आधारभूत मूल्यका रूपमा स्थापित गरेर भएको बताए।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको उदय नै सुशासनलाई आधारभूत मूल्यका रूपमा आत्मसात् गरेर भएको हो। पार्टीभित्र होस् वा पार्टीभन्दा बाहिर, सुशासनका सवालमा हामी कुनै पनि सम्झौता गर्दैनौँ। हामी राज्यका संस्थाहरू व्यक्तिभन्दा माथि हुनुपर्छ भन्ने मान्यता राख्छौँ,’ उनले भने।
सञ्चारमाध्यममा आएका विषयहरूको निष्पक्ष छानबिन गरी दोषी देखिने जोकोहीलाई कानुनी दायरामा ल्याउने जिम्मेवारी सरकारको भएको पनि उनले बताए।
‘यसका लागि प्रधानमन्त्रीज्यू र सरकार सक्षम हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ। पार्टीले सञ्चारमाध्यममा आएका समाचारकै आधारमा हतारमा धारणा बनाउने वा निर्णय गर्ने होइन। हरेक विषयको आफ्नै प्रक्रिया हुन्छ र त्यो प्रक्रिया पूरा हुनुपर्छ। दोषी जोसुकै भए पनि कानूनअनुसार कारबाही हुनुपर्छ। हिजो पनि दोषीलाई उन्मुक्ति दिइएको थिएन, आज पनि दिइँदैन र भोलि पनि दिइने छैन। यस प्रक्रियामा सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्ण समर्थन रहनेछ,’ उनले भने।
–न्युज एजेन्सी नेपाल