नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र विराटनगर किङ्सबीचको खेलका क्रममा विद्यार्थीहरूले जलवायु न्यायको माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका छन्।
खेल भइरहेका बेला विद्यार्थीहरूले ‘CLIMATE JUSTICE’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जलवायु संकटप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
बाढीपहिरो तथा जलवायुजन्य विपदबाट प्रभावित नागरिकले भोग्नुपरेको पीडा र समस्यालाई स्मरण गराउँदै जलवायु न्याय, जिम्मेवारी र जवाफदेहिताको माग गरिएको नेविसंघ पूर्वअध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।
विद्यार्थीहरूले जलवायु संकट समाधानका लागि आश्वासन मात्रै नभई ठोस कदम चाल्नुपर्ने सन्देश दिएका छन्।
उनीहरूको प्रदर्शनले खेल मैदानलाई मनोरञ्जनको थलो मात्रै नभई सामाजिक तथा वातावरणीय मुद्दामा आवाज उठाउने मञ्चका रूपमा समेत प्रस्तुत गरेको छ।