नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताएका छन्।
नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले संसदमै दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसलाई व्यवहारबाट सच्याउनुपर्नेसमेत उनले उल्लेख गरेका थिए।
सोमवाबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र राजनीतिक दलहरूले समेत आपत्ति जनाइसकेको बताए।
प्रधानमन्त्रीले संसदमा सीमा विवाद समाधानका लागि तेस्रो पक्षलाई सहभागी गराउने आशयको अभिव्यक्ति दिएपछि त्यसको एउटा पक्ष सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति भने नसच्याएको पोखरेलको भनाइ छ।
नेपाल र भारतबीच सीमा समस्याबारे दुवै पक्षबीच दस्तावेजीकरण भइसकेको उल्लेख गर्दै उनले सीमा विवाद नेपालको आफ्नै सरोकारको विषय भएको बताए।
‘प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद र राजनीतिक दलहरूले आपत्ति जनाइसकेका छन्। उहाँले तेस्रो पक्षको उपस्थितिसम्बन्धी अभिव्यक्ति सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति सच्याउनुभएको छैन। नेपाल–भारतबीचको सीमा समस्या दुवै देशका दस्तावेजमा अभिलेखित विषय भएकाले यसको समाधानमा सरकारले नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्छ। प्रधानमन्त्रीले आगामी भारत भ्रमणका क्रममा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउनुहुनेछ भन्ने अपेक्षा छ। त्यसैगरी, प्रधानमन्त्रीको राजनीतिक कार्यशैली लोकतान्त्रिक र संवादमुखी देखिएको छैन। आफ्नै पार्टीसँग संवाद नगर्ने प्रधानमन्त्रीबाट प्रतिपक्षसँग संवादको अपेक्षा गर्न कठिन छ। उहाँको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैली सच्याउनुपर्छ भन्ने हाम्रो आग्रह हो,’ उनले भने।
-न्युज एजेन्सी नेपाल