इरानसँगको युद्ध फेरि चर्किन सक्ने संकेत देखिएका बेला अमेरिकाले मध्यपूर्व क्षेत्रमा तीनवटा विमानवाहक युद्धपोत परिचालन गरेको छ।
अमेरिकी नौसेनाको यूएसएस थियोडोर रुजवेल्ट विमानवाहक युद्धपोत आइतबार मात्रै मध्यपूर्वको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) को जिम्मेवारी क्षेत्रमा प्रवेश गरेसँगै त्यहाँ अमेरिकी विमानवाहक युद्धपोतको संख्या तीन पुगेको हो।
थियोडोर रुजवेल्ट यसअघि मध्यपूर्वमा परिचालित यूएसएस जर्ज एचडब्लू बुस र यूएसएस जर्ज वासिङ्टनसँग जोडिएको छ।
रुजवेल्ट आएपछि तीनवटा विमानवाहक युद्धपोतका समूह सेन्टकमको जिम्मेवारी क्षेत्रमा पुगेको इसराइली अखबार जेरुसलेम पोस्टले जनाएको छ।
यसअघि रुजवेल्टलाई मध्यपूर्वमा तैनाथ जर्ज वासिङ्टनको ठाउँमा पठाउने सेनाको तयारी थियो।
तर रुजवेल्ट आइपुग्दा पनि वासिङ्टन उक्त क्षेत्रमा रहेपछि अमेरिकी नौसेनाको उपस्थिति तीनवटा विमानवाहक युद्धपोतसम्म पुगेको हो।
अमेरिकी अधिकारीहरूले आवश्यक परे तीनवटै विमानवाहक युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथकै अवस्थामा राख्न सकिने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तत्कालै आक्रमण नगर्ने विकल्पबारे छलफल गरिरहेका छन्। तर उनले आदेश दिएमा आक्रमण गर्न सक्ने गरी अमेरिकी सेनाले सैन्य तयारी भने जारी राखेको छ।
अमेरिकाले मध्यपूर्वमा युद्धपोतसँगै थप सैनिक, लडाकु विमान र सैन्य उपकरण पनि पठाइरहेको छ।
अमेरिकाले मध्यपूर्वमा थप ९ हजारदेखि १० हजार सैनिक पठाउँदै छ।
यसमा नौसेना र मरिन सैनिक दुवै छन्। ती सैनिक युद्धपोत र अन्य सैन्य जहाजमा सवार भएर मध्यपूर्व पुग्नेछन्।
थियोडोर रुजवेल्टसँगै मकिन आइल्यान्ड एम्फिबियस रेडी ग्रुप पनि मध्यपूर्वतर्फ पठाइएको छ।
तीनवटा सैन्य जहाज रहेको यो समूहमा १३ औँ मरिन एक्सपेडिसनरी युनिटका सैनिक छन्। यो समूह नोभेम्बरको अन्त्यसम्ममा मध्यपूर्व पुग्ने अपेक्षा गरिएको छ।
अरब न्युजका अनुसार यसअघि नै मध्यपूर्वमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्। नयाँ परिचालनले यो संख्यामा थप ९ हजारदेखि १० हजार सैनिक थपिनेछ।
वासिङ्टन पोस्टका अनुसार तीन वटा विमानबाहक युद्धपोतको समूहमा मात्रै २० हजार सैनिक रहनेछन् भने कुल १५० वटासम्म लडाकू विमान रहनेछन्।
ती समूहसँग क्षेप्यास्त्र प्रहार र प्रतिरक्षा गर्न सक्ने विध्वंसक युद्धपोत पनि रहनेछन्।
अमेरिकाले सैन्य उपस्थिति बढाइरहेका बेला इरानमाथि फेरि आक्रमण गर्ने विषयमा ट्रम्पले निर्णय गरिसकेका छैनन्।
रोयटर्सले शनिबार सार्वजनिक गरेको समाचार अनुसार ट्रम्पले इरान वा इरान समर्थित हुथी समूहले नउक्साए तत्काल थप आक्रमण नगर्ने विकल्पमा छलफल गरिरहेका छन्।
साउदी अरबका युवराज मोहम्मद बिन सलमान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि ट्रम्पलाई इरानमाथि पुनः आक्रमण नगर्न आग्रह गरेका छन्।
उनीहरूले आर्थिक प्रतिबन्ध र अमेरिकी नौसैनिक नाकाबन्दीले इरानलाई दबाबमा राखिरहेको तर्क गरेका छन्। तर ट्रम्पले आक्रमण नै नगर्ने प्रतिबद्धता भने जनाएका छैनन्।
अर्कोतर्फ इसराइली अधिकारीहरूले इरानमाथि फेरि सैन्य कारबाही गर्न अमेरिकी प्रशासनलाई दबाब दिइरहेको छन्।
इरानका भूमिगत आणविक केन्द्रलाई फेरि निशाना बनाउने विकल्पबारे पनि ट्रम्पलाई जानकारी गराइएको छ। तर अमेरिकी गुप्तचर निकायहरूको आकलनमा थप आक्रमणले इरानलाई वार्तामा आफ्नो अडान परिवर्तन गर्न बाध्य पार्ने सम्भावना कम छ।
अमेरिकाले इरानका समुद्री मार्गमा नाकाबन्दी जारी राख्नुका साथै स्थलमार्गबाट हतियार तथा प्रतिबन्धित सामग्री पुग्न नदिन पनि प्रयास गरिरहेको छ। यसका लागि अमेरिकी सेन्ट्रल कमान्डले ‘टास्क फोर्स आइरन गेट’ गठन गरेको छ।
यसरी अमेरिकाले एकातिर इरानमाथि तत्काल थप आक्रमण नगर्ने विकल्प खुला राखेको छ भने अर्कोतिर मध्यपूर्वमा ठूलो सैन्य शक्ति परिचालन गरिरहेको छ। तीनवटा विमानवाहक युद्धपोत, थप ९ हजारदेखि १० हजार सैनिक र सयौँ सैन्य विमान परिचालनको तयारीले आवश्यक परे इरानविरुद्ध ठूलो सैन्य कारबाही गर्न सक्ने विकल्प अमेरिकाले खुला राखेको देखिन्छ भनेर रोयटर्सले लेखेको छ।