नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतले भूमिका खेलेको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महरले कांग्रेसभित्रको विवादलाई थप गहिरो बनाउने र अरू कसैलाई सहयोग पुग्ने गरी अदालतले समयमै न्याय सम्पादन नगरेको बताए।
ऐतिहासिक लोकतान्त्रिक विरासत बोकेको पार्टीको भविष्यसँग अदालतले खेलवाड गर्न खोजेको उनको भनाइ थियो।
अदालतको निर्णय आएपछि मात्रै पार्टी एकताबद्ध भएर अघि बढ्न सक्ने बताउँदै महरले कांग्रेसलाई विभाजित राख्ने कुनै पनि सुनियोजित षड्यन्त्रमा अदालत सहभागी हुन नहुने बताए।
अर्को प्रसंगमा बोल्दै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको वर्तमान र सुदूरपश्चिमको सुदूर भविष्यसँग जोडिएकाले यसको संचालन र व्यवस्थापनमा पटक पटक अनेकौं उल्झन ल्याउन हर्कत हुँदै आएकोले यस्ता षड्यन्त्रको पर्दाफास गर्नु पर्ने बताउँदै महरले विश्वविद्यालय कुनै व्यक्तिको निजी संस्था नहुने बताए।