जय नेपाल पार्टीले संविधान संशोधनको लक्ष्यसहित सार्वजनिक गरेका आठ बुँदे संकल्पलाई अभियानका रूपमा जनतामाझ लैजाने निर्णय गरेको छ।
पार्टी सभापति धवलशम्सेर राणाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले संविधान संशोधनमार्फत संस्थागत सुधार र राजनीतिक स्थायित्वको लक्ष्यलाई अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो।
पार्टीले कात्तिक १७ गते सार्वजनिक गरेका आठ बुँदे संकल्पमा सुदृढ राष्ट्रियता र सार्थक प्रजातन्त्रका लागि संविधान संशोधन, महँगी नियन्त्रण, संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको स्थापना, धर्मान्तरण तथा गौहत्यामा प्रतिबन्धलगायत विषय समेटिएका छन्।
त्यस्तै, युवा तथा महिलामैत्री आर्थिक विकास, बैंक तथा सहकारी पीडितलाई न्याय, अधिकारसम्पन्न स्थानीय निकाय, प्रदेश संरचनाबारे जनमत संग्रह र विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्नुपर्ने विषय पनि संकल्पमा समावेश छन्।
बैठकले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक सक्षम र ऊर्जावान् व्यक्तिहरूलाई पार्टीमा सम्पर्क गर्न आह्वान गर्ने निर्णय गरेको छ। सम्भावित उम्मेदवारहरूको नामावली देशका ७७ वटै जिल्लाबाट संकलन गरिने पार्टीले जनाएको छ।
त्यस्तै, दसैँ, तिहार र छठका कारण स्थगित जिल्ला कार्यसमिति गठन प्रक्रियालाई पुनः सुचारु गर्दै गठन हुन बाँकी जिल्लामा प्रक्रिया तीव्र बनाउने निर्णय पनि बैठकले गरेको छ।
बैठकले केन्द्रीय कार्यसमिति सदस्यमा नरेश कुमार राई (मोरङ), केशव पाण्डे (उदयपुर) र युवराजा राना (गुल्मी) लाई मनोनयन गरेको छ। सम्मानित सल्लाहकार समिति सदस्यमा देवेन्द्र पौडेल (बाँके), टीका उप्रेती र राजकुमार कार्की (मोरङ) तथा कमलराज विष्ट (चितवन) मनोनीत भएका छन्।
त्यसैगरी, कोशी प्रदेश इन्चार्जमा सुरेशप्रसाद आचार्य र संयोजकमा नरेश कुमार राईलाई जिम्मेवारी दिइएको छ।
स्थानीय तह निर्वाचन गैरदलीय रूपमा सञ्चालन गरिनुपर्ने माग र बहसबारे जनस्तरको राय संकलन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन प्रदेश इन्चार्ज तथा संयोजकहरूलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।
अर्को व्यवस्था नभएसम्म पार्टीको प्रचारप्रसार विभागको जिम्मेवारी केन्द्रीय सचिवालय मातहत राख्ने निर्णय भएको सचिवालय प्रमुख सगुनसुन्दर लावतीले जानकारी दिए।