नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षको १५औं महाधिवेशनबाट लुम्बिनी प्रदेश सभापतिमा प्यूठानका सरोज थापा (रोज राणा) सर्वसम्मत रूपमा चयन भएका छन्।
गत प्रदेश सभाको निर्वाचनमा उनी प्यूठान (ख) बाट निर्वाचित भएका थिए। त्यसपछि उनी दुई पटक लुम्बिनीको मन्त्री पनि बने। चलचित्र क्षेत्रवाट उदाएका उनी देउवा संगको सम्बन्धकै कारण कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए।
सोमबार दाङको भालुबाङमा भएको अधिवेशन पछि अबेर राति उनको नाममा प्रदेशस्तरीय समिति गठन गर्ने सर्वसम्मत निर्णय भएको थियो।
रोजको कार्यसमितिमा पाल्पाका माधवप्रसाद नेपाल, कपिलवस्तुका डोलकराम घिमिरे र बाँकेकी माया पुन उपसभापति छन्।
त्यस्तै, महामन्त्रीमा रोल्पाका दुर्गाबहादुर खड्का, दाङका बमबहादुर डिसी र बर्दियाका गोबिन्दप्रसाद थारू सर्वसम्मत चयन गरिएका छन्।
स्रोतका अनुसार विषेशगरी सहमहामन्त्री पदमा आकाँक्षी धेरै भएका कारण सर्वसम्मत चयन गर्ने बारे सहमतिको प्रयास जारी छ।
अन्य पदहरूमा भने लगभग सहमति जुटिसकेको स्रोतले दाबी गरेको छ।
लुम्बिनी प्रदेश कार्यसमिति झन्डै ११५ सदस्यीय हुने आँकलन गरिएको छ। प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गराउने गरि कसरत भइ रहेको पनि सभापति थापाले बताए।