प्रधानमन्त्री बालेन्द्र शाह पहिलो द्विपक्षीय भ्रमण सकेर सोमबार अबेर दिल्लीबाट काठमाडौं ओर्लिए। शाहले आफ्नो भ्रमणका क्रममा एयररूटको विषय टुङ्गियोस् भन्ने चाहेका थिए।
तर भ्रमणका लागि नेपालबाट दिल्ली उड्दासम्म एयररूटको विषयमा सहमति जुटेको थिएन।
दिल्ली उत्रिएपछि शाहलाई भेट्न भारतीय विदेशमन्त्री एस जयशंकर होटल ताजमा आइपुगेका थिए।
कुराकानीको क्रममा एयररूटको विषय उठ्यो। तर भारतीय विदेशमन्त्री एस जयशंकरले एयररूट उपलब्ध गराउने विषयमा प्राविधिक रूपमा गर्नुपर्ने कामबारे बताउन थाले।
त्यसपछि शाहले रोकेर 'लिडर्स सुड वर्क अन आइडियाज, प्रोसेस सुड बि फलोड बाइ ब्युरोक्रेसी' (नेतृत्वले नीतिगत सोच र नयाँ अवधारणामा केन्द्रित हुनुपर्छ, प्रक्रियालाई कर्मचारीतन्त्रले पछ्याउनुपर्छ।’) भनेर जबाफ दिएका थिए।
प्रधानमन्त्री शाहले एयररूटको प्राविधिक विषयमा थप सुन्न चाहेनन्।
भेटमा नेपाली क्रिकेट खेलाडीलाई भारतमा र भारतीय क्रिकेट खेलाडीलाई नेपालमा खेल्न सहजता प्रदान गर्नुपर्ने धारणा प्रधानमन्त्री शाहले राखेका थिए।
तर जयशंकरले त्यस विषयमा पनि प्रक्रियागत समस्याहरू देखाएका थिए।
भ्रमण टोलीका एक सदस्यका अनुसार क्रिकेटको विषय प्रधानमन्त्री शाहले त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि राखेका थिए।
मोदीले भने क्रिकेटबारे सकारात्मक जबाफ दिएका थिए। मोदीले भारतको महिला दृष्टिविहीन क्रिकेट टोलीलाई आफूले कुन देशसँग क्रिकेट खेल्न गाह्रो हुन्छ भनेर सोधेको र उनीहरूले 'नेपाल' को नाम लिएको घटना सुनाए।
मोदीले नेपालले क्रिकेटमा गरेको प्रगतिको तारिफ गर्दै खेलकुदको क्षेत्रमा सहकार्य गर्न सकिने जबाफ दिए।
छलफलमा क्रिकेटसँगै फुटबलमा पनि सहकार्य गर्ने विषय उठेको थियो। त्यसमा भने मोदीले भुटानलाई पनि साथ लिएर अघि बढ्ने कुरा उठाएका थिए।
भेटको सुरूआतमै भारतीय प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघको महासभामा बालेनले गरेको सम्बोधनको तारिफ गरेका थिए।
'बालेन शाह र नेपालका युवाहरूले देखेको सपना साकार पार्न भारत तयार छ', मोदीले भनेका थिए, 'बालेनको सपना पूरा हुँदा म खुसी हुन्छु।'
मोदीले भेटमा संयुक्त लगानीमा फिल्म निर्माण गर्नेदेखि कन्टेन्ट क्रिएटरहरूबीच सहकार्यको प्रस्ताव समेत गरेका थिए।
द्विपक्षीय भेटवार्तापछि दुई प्रधानमन्त्रीबीच 'वान अन वान' कुराकानी भएको थियो। त्यसपछि संयुक्त पत्रकार सम्मेलन भएको थियो।
लगत्तै मोदीले नेपाली भ्रमण टोलीलाई दिवाभोज दिएका थिए। भोजमा दुई प्रधानमन्त्री एउटै टेबलमा बसेका थिए। त्यसपछि भारतीय विदेशमन्त्रीसँग नेपालका अर्थमन्त्री र परराष्ट्रमन्त्री बसेका थिए।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसँग अजित डोभाल बसेका थिए। डोभालले बेनसँग काठमाडौंका नेवारहरूको इतिहासबारे कुराकानी गरेका थिए।
भारतीय पक्षले नेपालको भ्रमण टोलीमा को को छन् र उनीहरूको पृष्ठभूमि के हो भन्ने राम्रोसँग अध्ययन गरेको नेपाली पक्षले त्यहीँ पुगेपछि पत्तो पाएको थियो। भारतीय पक्षसँग प्रधानमन्त्री बालेन्द्र शाहको बुवाको युवावस्थाको समेत फोटो भएको नेपाली टोलीले थाहा पाएको थियो।
दिवाभोजमा आनी छोइङ डोल्माको 'फूलको आँखामा फूलै संसार' को धुन बजाइएको थियो। नेपाली टोली खानमा व्यस्त भएको र संगीतको आवाज सानो भएका कारण खासै ध्यान दिइरहेको थिएन। भारतीय प्रधानमन्त्री मोदीले इशारामा बजिरहेको ट्युनको गीतबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।
भेटवार्तामा मोदीले हिन्दी भाषा बोलेका थिए। नेपालका प्रधानमन्त्री शाहले भने अंग्रेजी भाषामा बोलेका थिए। तर शाहले पत्रकार सम्मेलन भने नेपाली भाषामा बोलेका थिए।
पत्रकार सम्मेलनमा मोदीले नेपाललाई थप एयररूट दिने सहमतिबारे बोलेका थिएनन्। नेपालका प्रधानमन्त्री शाहले भने दुई देशका सहरहरू हवाई सम्पर्कबाट जोडिनुपर्ने बताएका थिए।
तर भ्रमण समापनका बेला जारी भएको संयुक्त वक्तव्यमा भने नेपालले हाल काठमाडौंबाट बाहिरिन प्रयोग गरिरहेको भैरहवाको एयररूट दुईतर्फी बनाउने विषय समेटिएको थियो।
भ्रमण टोलीका एक सदस्यका अनुसार भारतीय पक्षलाई एयररूटको विषयमा विश्वासमा लिने काम परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए।
भारतले एयररूटको विषय र बागडोरा विमानस्थलका लागि एयरस्पेसको विषयमा प्याकेज सहमति चाहेको थियो। नेपालले पनि जनकपुर, महेन्द्रनगर र भैरहवाका तीन वटा एयररूटलाई दोहोरो बनाउने प्रस्ताव गरेको थियो।
तर संयुक्त वक्तव्यमा भैरहवामाथिको बी ३४५ एयररूट दोहोरो प्रयोग हुने विषय समेटिएको थियो।
नेपाली पक्षले बागडोराको विषय उल्लेख नगरी भारतले भैरहवाको एयररूटलाई दोहोरो बनाउन सहमति जनाएको विषयमा खुसी व्यक्त गरेको छ।
तर एक महिनाभित्र बागडोरा एयरपोर्टका लागि नेपालको पूर्वी क्षेत्रको निश्चित एयरस्पेस प्रयोग र भैरहवाको एयररूटको विषय टुङ्ग्याउने सहमति भएको भ्रमण टोलीमा सहभागी एक सदस्यले बताए।
नेपाली पक्षले बागडोराका लागि भारतलाई एयरस्पेस प्रयोग गर्न दिन तयार रहेको तर त्यसका लागि प्राविधिक अध्ययन गर्नुपर्ने बताएको थियो।
'संयुक्त वक्तव्यमा प्राविधिक अध्ययन गर्ने विषय परेको छ। एक महिनाभित्र नै यो विषयमा निर्णय हुन्छ,' भ्रमण टोलीका ती सदस्यले भने, 'प्राविधिक काम छिटो सक्न हामीले नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइसकेका छौँ।'