नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म गर्ने महाधिवेशनमा सक्रिय रहने राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिलाई बहालवाला पदबाट हटाउने चेतावनी दिएको छ।
जारी केन्द्रीय समिति बैठकले अनुशासन समिति गठन गर्ने र देउवा पक्षमा खुलेका जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने तयारी गरेको हो। स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरूलाई पदबाट हटाउन सम्बन्धित निकायमा परिपत्र गर्ने तयारीमा कांग्रेस छ।
यसको संकेत केन्द्रीय समिति बैठक सुरू गर्दै मंगलबार सभापति गगन थापाले दिइसकेका छन्।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म १५ औँ केन्द्रीय महाधिवेशन गरिसकेको र अब एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने भन्दै सभापति थापाले 'नयाँ पार्टी'मा लाग्नेहरूलाई बहालवाला पदबाट राजीनामा दिन भनेका हुन्।
सभापति थापाले देउवा पक्षले गर्न लागेको महाधिवेशनलाई नयाँ पार्टीको महाधिवेशन भनेका छन्।
राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिलाई 'नयाँ पार्टी'मा लाग्ने हो भने राजीनामा दिन सभापति थापाको सुझाव छ। यदि राजीनामा नदिए विधानअनुसार हटाउन सम्बन्धित निकायमा पत्राचार गरिने उनले बताए।
‘कांग्रेस विधानले कुनै व्यक्ति पार्टीको चुनाव चिह्न लिएर लडेको छ र ऊ अर्को पार्टीमा लाग्छ भने त्यो कांग्रेसको सदस्य कायम रहँदैन। त्यसैले म आह्वान गर्छु- तपाईं राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहमा हुनुहुन्छ भने अस्तिको अधिवेशनमा आउनुभयो वा आउनुभएन, फरक पर्दैन तर तपाईंले कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने जुन ठाउँमा जनप्रतिनिधि हुनुहुन्छ, त्यसबाट राजीनामा गर्नुहोला। गर्नुभएन भने विधानअनुसार कारबाही अघि बढ्छ,’ सभापति थापाले भने।
कांग्रेसले देउवा पक्षको महाधिवेशनमा सक्रिय रहेका राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिको सूची तयार गर्ने क्रम पनि जारी राखेको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत राष्ट्रिय सभाका सांसदहरू पनि देउवा पक्षले गर्न लागेको महाधिवेशनमा सक्रिय छन्।
गत फागुनमा भएको स्थानीय चुनावपछि भीष्मराज आङ्देम्बे संसदीय दलको नेता भएपछि सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाएका थिए। यसबीचमा सिटौलाले 'गगन भाइलाई सभापति मान्न मन नै लागेको छैन त के गर्ने?' भनेर अभिव्यक्तिसमेत दिएका थिए।
कांग्रेसका एक पदाधिकारीका अनुसार अब छिट्टै अनुशासन समिति गठन हुन्छ र पार्टी हितविपरीत कार्य गर्ने तथा 'नयाँ महाधिवेशनमा' सहभागी हुने जनप्रतिनिधिमाथि कारबाही प्रक्रिया अघि बढ्छ।
‘समानान्तर महाधिवेशनका आवरणमा नयाँ पार्टीको महाधिवेशनमा जुटेकालाई एक पटक स्पष्टीकरणको मौका दिइन्छ। चित्तबुझ्दो स्पष्टीकरण नआए पदमुक्त गर्ने प्रक्रिया पार्टीले अघि बढाउँछ। पार्टीलाई विधान र कानुनअनुसार चलाउँदै अनुशासन कायम राख्न पनि यो आवश्यक छ,’ ती पदाधिकारीले भने।
प्रतिनिधि सभामा कांग्रेसका प्रत्यक्ष र समानुपातिक गरी ३८ जना सांसद छन्। यीमध्ये दुई जना समानुपातिक सांसद देउवातिर खुलेका छन् भने दुई जना तटस्थ छन्।
हरिनादेवी कामी र सुशीला ढकाल आचार्य देउवा पक्षले गर्ने महाधिवेशनमा सक्रिय छन्। निनुकुमारी कर्ण र रीना उप्रेती कतै पनि सक्रिय देखिएका छैनन्। शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएकी कर्ण पूर्वउपसभापति विमलेन्द्र निधिकी भाञ्जी हुन् भने महिला संघ हुँदै कांग्रेस राजनीतिमा लागेकी उप्रेती नेता बलबहादुर केसीकी श्रीमती हुन्। बलबहादुर कुनै पनि महाधिवेशनमा सहभागी छैनन्।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औँ महाधिवेशन तयारी समितिको संयोजक बनाएर केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको छ।
१५ औँ महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले विशेष महाधिवेशनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै पनि जनप्रतिनिधिमाथि कारबाही गर्न नमिल्ने बताए।
‘नेपाली कांग्रेसको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। यस्तो अवस्थामा सांसदहरू कहाँ बस्ने भन्ने उहाँहरूको व्यक्तिगत अधिकारको विषय हो। आधिकारिकताको विषयमा अदालतले निर्णय गरिसकेपछि पनि सांसदहरूले राजनीतिक निर्णय लिन पाउनुहुन्छ। त्यसअघि उहाँहरूमाथि कारबाही गर्न मिल्दैन,’ कुईकेलले सेतोपाटीसँग भने, ‘कुनै पनि जनप्रतिनिधिमाथि कारबाही गर्नु भनेको उहाँहरूले आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तै हो।’
संविधानको धारा ८९ मा सांसद कस्तो अवस्थामा पदमुक्त हुने भन्ने व्यवस्था छ।
जसमा, ‘जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानुनबमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा’ भन्ने व्यवस्था छ। तर देउवा पक्षले अहिले दल त्याग नभई कांग्रेसको झण्डामा महाधिवेशन गर्न लागिएको बताएको छ।
‘हामी कांग्रेसकै झण्डामा महाधिवेशन गर्न लागेका छौं, अदालतमा मुद्दा विचाराधीन पनि छ,’ देउवापक्षका एक नेताले भने, ‘पार्टीले निर्णय गरेर मात्र हुँदैन, सम्बन्धित सांसदले दल त्याग गरे पद जाने हो, कांग्रेस त कसैले त्याग्ने भनेको छैन। फेरि प्रदेश सभा सांसदको पदबारे पद सभामुखले निर्णय गर्नुपर्छ, पार्टीले मात्र हटाएर पुग्दैन नि!’
गगन पक्षले प्रदेश महाधिवेशन नगरी सिधै केन्द्रीय महाधिवेशन गरेकोले आयोगले अद्यावधिक नगर्ने दाबीसमेत देउवापक्षीय ती नेताको छ।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गरेर पदाधिकारी तथा सदस्यहरूको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा आवश्यक कागजात बुझाइसकेको छ। सो कागजात विधानअनुसार छ/छैन भन्ने विषयमा आयोगले अध्ययन गरिरहेको छ।
त्यस्तै, मंसिर २१ देखि २३ गतेसम्म देउवा पक्षले १५ औँ महाधिवेशन गरी विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिनेछ। त्यसअघि नै आयोगले गगन पक्षको विवरण अद्यावधिक गरे देउवा पक्षले नयाँ पार्टीका रूपमा विवरण पेस गर्नुपर्ने अवस्था आउन सक्छ।
प्रतिनिधि सभामा देउवा पक्षमा खुलेका सांसद-
- हरिनादेवी कामी
- सुशीला ढकाल आचार्य
तटस्थ रहेका:
- निनुकुमारी कर्ण
- रीना उप्रेती
राष्ट्रिय सभामा देउवा पक्षमा खुलेका सांसद-
- कृष्णप्रसाद सिटौला
- आनन्दप्रसाद ढुंगाना
- जितजंग बस्नेत
- कृष्णप्रसाद पौडेल
- खम्मबहादुर खाती
- जगत तिमिल्सिना
- नारायणदत्त भट्ट
तटस्थ रहेका:
- विष्णुदेवी पुडासैनी
- चन्द्र केसी
कोशी प्रदेश सभामा देउवा पक्षमा खुलेका सांसद-
- केदार कार्की
- भूपेन्द्र राई
- रामकुमार खत्री
- ईन्दिरा थापा
- सुनिता गच्छदार
- खगेश्वरी पौड्याल
बागमती प्रदेश सभामा देउवा पक्षमा खुलेका सांसद-
- विमल ठकुरी
- दीपेन्द्र श्रेष्ठ
- श्यामबहादुर खड्का
- गोविन्द लम्साल
- विनु रायमाझी
- माया श्रेष्ठ
- कञ्चनचन्द्र वादे
- मसिना खड्का
- उर्मिला नेपाल
गण्डकी प्रदेश सभामा देउवा पक्षमा खुलेका सांसद-
- जितबहादुर शेरचन
- सरस्वती गुरूङ
- दीपेन्द्रबहादुर थापा
लुम्बिनी प्रदेश सभामा देउवा पक्षमा खुलेका सांसद-
- सरोज थापा (रोज राणा)
- माया पुन
सुदूरपश्चिम प्रदेश सभामा देउवा पक्षमा खुलेका सांसद-
- कमलबहादुर शाह
- मेघराज खड्का
- विक्रमसिंह धामी
- सरस्वती खड्का
- गीता चौधरी
- प्रकाशबहादुर बम
- डम्मरी महरा
- शिवराज भट्ट
- मधुदेवी भारती
मधेस- मधेस प्रदेशमा देउवा पक्षको महाधिवेशनमा सक्रिय कुनै पनि सांसद नरहेको।
कर्णाली प्रदेश- कर्णाली प्रदेशमा पनि देउवा पक्षमा सक्रिय कुनै कांग्रेस सांसद नरहेको।