नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पार्टीको नीति, विधान र हितविपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेका छन्।
उनले पार्टीको वैधानिक महाधिवेशन र प्रक्रियामा सहभागी नभई पार्टीविरुद्ध गतिविधि गर्ने जनप्रतिनिधिको छानबिन गरी विधान अनुसार कारबाही गर्नुपर्ने बताएका हुन्।
बुधबार केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै तिमल्सिनाले निर्वाचन आयोगमार्फत त्यस्ता जनप्रतिनिधिलाई पदमुक्त गर्नसमेत माग गरे।
पार्टीको टिकट, झण्डा र कार्यकर्ताको मेहनतबाट निर्वाचित भएका जनप्रतिनिधिले पदमा पुगेपछि पार्टीको अनुशासन उल्लङ्घन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
‘पार्टीको टिकट, झण्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको बैधानिक महाधिवेशन र बिधि,प्रक्रियागत गतिविधिमा सहभागी नभई आज पार्टीको नीति र हितविपरीतका गतिविधिमा संलग्न छन्। पदमा पुगेपछि अनुशासन उल्लङ्घन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्बाचन आयोग मार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु,’ उनले केन्द्रीय समिति बैठकमा भने।
उनले कांग्रेसको ऐतिहासिक नाम, चारतारे झण्डा र चुनाव चिह्न रूखको अनधिकृत प्रयोग रोक्न पनि माग गरे।
गत प्रतिनिधिसभा निर्वाचनमा रुख चिह्नमा मतदान नगर्ने र अरूलाई पनि गर्न नदिनेहरू अहिले त्यही चुनाव चिह्न आफूलाई चाहियो भन्दै विवाद गरिरहेको भन्दै उनले असन्तुष्टि पनि जनाए। पार्टीको वैधानिक पहिचान जोगाउन निर्वाचन आयोगमार्फत कानुनी तथा राजनीतिक पहल गर्नुपर्ने उनले बताए।
तिमल्सिनाले १५औँ महाधिवेशनपछि पार्टीभित्रको आन्तरिक तिक्तता बिर्सेर तल्लो तहसम्म एकताको सन्देश दिनुपर्नेमा जोड दिए। पार्टीको ‘हामी तयार छौँ अभियान’ लाई प्रभावकारी बनाउन वडा तहसम्म स्पष्ट कार्ययोजनासहित नेता तथा कार्यकर्तालाई परिचालन गर्नुपर्ने उनको प्रस्ताव छ।
त्यस्तै, लामो समयदेखि तदर्थ अवस्थामा रहेका नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान महासंघ, ट्रेड युनियनलगायत भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिई तीनदेखि छ महिनाभित्र अधिवेशन गर्नुपर्ने उनले बताए।
उनले भोटेकोशी र बूढीगण्डकी क्षेत्रका बाढीपहिरो पीडितको पुनःस्थापना र पुनर्निर्माणमा सरकारको काम सुस्त रहेको भन्दै तत्काल राहत, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न सरकारमाथि दबाब दिनुपर्ने धारणा राखे।
सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण क्षमतामा सञ्चालन गर्न र अरनिको राजमार्गको दिगो स्तरोन्नति गर्न पनि उनले सरकारसँग माग गरे। यसका लागि चिनियाँ पक्षसँग उच्चस्तरीय कूटनीतिक समन्वय गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, विकल्पबिना सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हटाउने काम रोक्न र वास्तविक सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापन गर्न उनले माग गरे। बढ्दो महँगी, बेरोजगारी र सडकको दुरवस्थाले नागरिकको जनजीवन कष्टकर बनेको भन्दै कांग्रेसले जनताका समस्यालाई प्राथमिकताका साथ उठाउनुपर्ने उनले बताए।
प्रमुख प्रतिपक्षी दलको भूमिकालाई प्रभावकारी बनाउन सरकारका स्वेच्छाचारी गतिविधि, भ्रष्टाचार र राष्ट्रिय हितविपरीतका कामको सशक्त विरोध गर्नुपर्ने पनि उनले उल्लेख गरे। सुशासन, पारदर्शिता, प्रेस स्वतन्त्रता, विधिको शासन र संवैधानिक निकायको संरक्षणका लागि संसद् र सडक दुवैबाट खबरदारी गर्नुपर्ने उनको धारणा छ।
स्थानीय तह निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गर्नुपर्ने भन्दै तिमल्सिनाले वडा तहसम्म संगठन परिचालन, पारदर्शी मापदण्डका आधारमा उम्मेदवार छनोट र स्थानीय स्तरमा लोकप्रिय व्यक्तिलाई समयमै टिकट दिनुपर्ने बताए। युवालाई पार्टीमा जोड्ने तथा शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई प्राथमिकता दिएर व्यावहारिक घोषणापत्र बनाउनुपर्ने उनको सुझाव छ।
उनले पार्टी र जनप्रतिनिधिबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको पनि बताएका छन्।