अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा निजी कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई पदमा फर्काउन जति शक्ति लगाए, त्यसले अहिले अमेरिकामा एउटा गम्भीर प्रश्न उठाएको छ– के कुनै कम्पनीको नेतृत्व कसले गर्ने भन्ने निर्णय पनि अब ह्वाइट हाउसले गर्न थालेको हो?
विश्वकै सबैभन्दा मूल्यवान चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख जेन्सेन हुआङलाई नोभेम्बर १२ मा पदबाट हटाइएपछि ट्रम्पले उनको पुनर्बहालीका लागि पर्दापछाडि सक्रिय भूमिका खेलेका थिए।
केही दिनअघि मात्र हुआङको विकल्प खोजिरहेको एनभिडियाको सञ्चालक समितिले सोमबार उनलाई फेरि सिइओमा फर्काउने निर्णय गर्यो।
ट्रम्पले यसका लागि आफूले सञ्चालक समितिसँग कुरा गरेको र उनीहरूलाई मनाएको खुलेरै स्वीकार गरेका छन्।
सोमबार सिएनबीसीसँगको अन्तर्वार्तामा उनले भनेका छन्– मैले उनीहरूसँग कुरा गरेँ। यति भनौँ, मैले उनीहरूलाई मनाएँ।
यो कुनै सामान्य कर्पोरेट निर्णय थिएन।
एकातिर वैवाहिक सम्बन्धबाहिरका सम्बन्ध र चिनियाँ जासुस भएको आशंका गरिएकी महिलासँगको सम्बन्ध सार्वजनिक भएपछि पद गुमाएका हुआङ थिए।
अर्कातिर उनलाई फेरि नेतृत्वमा फर्काउन अमेरिकी राष्ट्रपतिले नै कम्पनीको सञ्चालक समितिलाई मनाइरहेका थिए।
ट्रम्पका लागि हुआङको पुनरागमन केवल एउटा कम्पनीको नेतृत्व परिवर्तनको विषय थिएन।
त्यसमा अमेरिकी अर्थतन्त्र, सेयर बजार, कृत्रिम बौद्धिकता (एआई) मा चीनसँगको प्रतिस्पर्धा र आफ्नै लगानीसमेत जोडिएका थिए भनेर अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले लेखेको छ।
एनभिडिया अहिले एआई उद्योगको केन्द्रमा छ।
विश्वका ठूला प्रविधि कम्पनीले एआई प्रणाली विकास गर्न आवश्यक पर्ने चिप र कम्प्युटिङ उपकरणका लागि यही कम्पनीमा भर पर्नुपर्छ।
त्यसैले हुआङको बहिर्गमनले कम्पनीको सेयर मूल्यमा मात्र होइन, अमेरिकाले एआई क्षेत्रमा कायम राख्न खोजेको अग्रता र त्यससँग जोडिएको लगानीमा पनि असर पार्न सक्ने ट्रम्पको बुझाइ थियो।
हुआङलाई पदमा फर्काउन ट्रम्पले उपराष्ट्रपति जेडी भान्स, वाणिज्यमन्त्री हावर्ड लटनिक र अर्थमन्त्री स्कट बेसेन्टलाई समेत परिचालन गरेको एपीले जनाएको छ।
ट्रम्पकै दबाबपछि गत सातासम्म एनभिडियामा ठूलो फेरबदल आवश्यक रहेको बताउँदै आएका बेसेन्टसमेत अन्ततः हुआङको पुनर्बहालीका पक्षमा उभिए।
एपीका अनुसार भान्सले गएका साताको अन्तिमतिर एनभिडियाको सञ्चालक समितिलाई मनाउन थप सक्रियता देखाएका थिए। सिलिकन भ्यालीमा काम गरेको अनुभव भएका भान्सलाई ह्वाइट हाउसले सञ्चालक समितिसँग संवाद गर्न उपयुक्त प्रतिनिधिका रूपमा अघि सारेको थियो।
तर ट्रम्पको यो सक्रियताभित्र सार्वजनिक चासो र निजी स्वार्थबीचको सीमारेखा कहाँ छ भन्ने प्रश्न पनि जोडिएको छ।
एआईको दौडमा चीनसँग हार्ने डर
ट्रम्पले हुआङलाई फर्काउन चाहनुको एउटा प्रमुख कारण चीनसँगको प्रतिस्पर्धा हो।
एआई प्रविधिमा चीनभन्दा अगाडि रहने अमेरिकी रणनीतिमा एनभिडियाको भूमिका निर्णायक छ। एपीका अनुसार हुआङलाई हटाइरहँदा चीनको कुनै कम्पनीले उनलाई आफ्नो पक्षमा पार्न सक्ने डर ट्रम्पलाई थियो।
हुआङलाई ट्रम्पले एआईसम्बन्धी विषयमा ह्वाइट हाउसका विश्वासिला सल्लाहकारका रूपमा पनि प्रयोग गर्दै आएका थिए। उनी ट्रम्पको राष्ट्रपति भवनमा निर्माण भइरहेको बलरुम परियोजनाका ठूला दातामध्ये एक हुन्।
ट्रम्पले हुआङलाई अन्य कम्पनीका प्रमुख कार्यकारीसँग तुलना गर्न नमिल्ने बताएका छन्। उनको तर्कमा हुआङसँग भएको ज्ञान र क्षमता अरूमा छैन। ‘यो फरक विषय हो, किनकि उनको दिमागमा अथाह ज्ञान छ,’ ट्रम्पले भनेका थिए।
हुआङमाथि लागेको आरोपलाई पनि ट्रम्पले त्यति गम्भीर मानेनन्।
उनले हुआङले कम्पनी, देश र आफ्नो परिवारसँग माफी मागिसकेको भन्दै उनले कम्पनीका लागि गरेको कामलाई हेर्नुपर्ने बताएका थिए।
हुआङमाथि लागेको आरोप भने सामान्य कर्पोरेट आचारसंहिताको उल्लंघनमा मात्र सीमित थिएन। उनीसँग सिंगापुरमा रहेको एउटा कम्पनीकी कार्यकारी एलिस हुआङको सम्बन्ध रहेको खुलेको थियो।
अमेरिकी अधिकारीहरूले ती महिला चीनको गुप्तचर निकायसँग जोडिएको आशंका गरेका थिए। चीनले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ।
यही कारण हुआङको बहिर्गमनलाई अमेरिकी राष्ट्रिय सुरक्षासँग पनि जोडिएको थियो।
ट्रम्पले ह्वाइट हाउसका अधिकारीहरूले एनभिडियालाई हुआङबाट राष्ट्रिय सुरक्षामा खतरा नरहेको आश्वस्त पारेको बताएका छन्।
तर, हुआङलाई फर्काउन ट्रम्पले दिएको जोडमा राष्ट्रिय सुरक्षाको चिन्ता मात्रै थियो त? उनको आफ्नै लगानीको विषयले पनि यो निर्णयलाई थप विवादास्पद बनाएको छ।
एनभिडियामा ट्रम्पको आफ्नै लगानी
ट्रम्प एनभिडियाका लगानीकर्ता पनि हुन्।
अमेरिकी अखबार वासिङ्टन पोस्टका अनुसार सन् २०२६ को जुनमा सार्वजनिक उनको वित्तीय विवरणअनुसार सन् २०२५ को अन्त्यसम्म उनीसँग एनभिडियाको १ करोड २५ लाखदेखि ५ करोड ८० लाख डलरसम्मको सेयर थियो।
सन् २०२४ को अन्त्यमा भने यस्तो लगानी ६ लाख १५ हजारदेखि १३ लाख डलरको बीचमा थियो।
वासिङ्टन पोस्टले ट्रम्पको वित्तीय विवरण विश्लेषण गर्दा सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म उनले एनभिडियाको सेयरमा ४४ पटक कारोबार गरेको पाएको छ।
यस अवधिमा उनले कम्तीमा ५७ लाख डलरदेखि बढीमा १ करोड ६९ लाख डलरसम्मको सेयर किनेका थिए। बिक्री भने ४० लाखदेखि १ करोड २० लाख डलरसम्मको भएको थियो।
ट्रम्पको वित्तीय विवरणमा प्रत्येक कारोबारको ठ्याक्कै रकम खुलाइएको हुँदैन।
कारोबारलाई निश्चित रकमको दायरामा राखेर सार्वजनिक गरिन्छ। त्यसैले उनले कति मूल्यमा किने र कति मूल्यमा बेचे भन्ने यकिन गर्न कठिन रहेको वासिङ्टन पोस्टले जनाएको छ।
ह्वाइट हाउसले भने ट्रम्पको लगानी तेस्रो पक्षका वित्तीय संस्थाले स्वतन्त्र रूपमा व्यवस्थापन गरिरहेको बताएको छ।
राष्ट्रपति वा उनको परिवारले कुन कम्पनीको सेयर किन्ने वा बेच्ने भन्ने निर्णयमा हस्तक्षेप गर्न नसक्ने ह्वाइट हाउसका प्रवक्ता डेभिस इङ्गलको भनाइ छ।
तर, राष्ट्रपतिको आफ्नै लगानी रहेको कम्पनीको प्रमुख कार्यकारीलाई पदमा फर्काउन उनले सञ्चालक समितिलाई दबाब दिएको स्वीकार गर्नुले स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठाएको छ।
लगानी व्यवस्थापन गर्ने जिम्मेवारी अरूलाई दिइएको भए पनि राष्ट्रपतिको निर्णयले त्यही लगानीको मूल्यमा ठूलो प्रभाव पार्न सक्ने अवस्था छ।
ट्रम्पका लागि सेयर बजार नै अर्थतन्त्रको ऐना
ट्रम्पले हुआङलाई फर्काउन चाहनुको अर्को कारण अमेरिकी सेयर बजार हो।
हुआङ पदबाट हटेपछि एनभिडियाको सेयरमा आएको गिरावटले एआईसँग जोडिएका अन्य कम्पनीको मूल्यमा समेत असर पारेको थियो।
हुआङ पुनर्बहाली भएको सोमबार अमेरिकाका ठूला ५०० सार्वजनिक कम्पनीको सेयर मूल्यमा आएको उतारचढाव मापन गर्ने एसएन्डपी ५०० सूचक एकै दिन ४.७ प्रतिशत बढ्यो।
एनभिडियाको सेयर मूल्य पनि करिब ३१ प्रतिशत उकालो लागेको थियो।
ट्रम्पका लागि सेयर बजारको उतारचढाव नयाँ विषय होइन। उनले आफ्नो नेतृत्वको सफलता मापन गर्ने प्रमुख आधारका रूपमा सेयर बजारलाई लिने गरेका छन्।
बजारमा आउने गिरावट र सुधारले उनका आर्थिक नीतिदेखि इरानसँगको युद्ध र भन्सार नीतिसम्मका निर्णयमा प्रभाव पार्दै आएको छ।
एआईमा भइरहेको लगानी अहिले अमेरिकी अर्थतन्त्रको ठूलो आधार बनेको छ।
ठूला प्रविधि कम्पनीले यस वर्ष मात्रै डेटा सेन्टर निर्माण र त्यसमा आवश्यक उपकरण जडान गर्न करिब ८ खर्ब डलर खर्च गरेका छन्।
यसमा एनभिडियाका चिपसँगै कम्प्युटिङ उपकरण, विद्युत् प्रणाली, वातानुकूलन उपकरण र तामाका तारसमेत पर्छन्।
कोलम्बिया विश्वविद्यालयका अर्थशास्त्री स्टाइन भान निउवेन्होवर्गको अनुसन्धानअनुसार सन् २०२५ देखि २०३२ सम्म एआई पूर्वाधारमा कुल १०.३ ट्रिलियन डलर लगानी हुन सक्छ।
यो अमेरिकी अर्थतन्त्रको करिब ३.६ प्रतिशत हो।
एआईमा भइरहेको यो लगानीले अमेरिकी सेयर बजारमा ठूलो सम्पत्ति सिर्जना गरेको छ। विशेषगरी अमेरिकाका सबैभन्दा धनी १० प्रतिशत परिवारसँग करिब ८५ प्रतिशत सेयर सम्पत्ति छ।
एआई कम्पनीको सेयर मूल्य बढ्दा उनीहरूको लगानी र अवकाश बचत कोषको मूल्य पनि बढेको छ। यसले उपभोक्ताको खर्च बढाउन र अर्थतन्त्र विस्तारमा समेत योगदान दिएको छ।
तर एआईको विस्तारका असर सबैका लागि सकारात्मक छैनन्। डेटा सेन्टर निर्माणका लागि स्थानीय समुदायबाट विरोध बढिरहेको छ। विद्युत् र अन्य पूर्वाधारमा दबाब परेको छ। चिपको माग बढ्दा गेमिङ उपकरण, स्मार्टफोन र ल्यापटपसमेत महँगा भएका छन्। यसले महँगी नियन्त्रणमा थप चुनौती सिर्जना गरेको छ।
यस्तो अवस्थामा एनभिडियाको नेतृत्वमा आएको परिवर्तनले सेयर बजारमा ठूलो असर पार्न सक्ने भएकाले ट्रम्पले हुआङको पुनरागमनलाई आर्थिक स्थिरतासँग जोडेर हेरेका छन्।
निजी कम्पनीमा राष्ट्रपतिको हस्तक्षेपमाथि प्रश्न
रिपब्लिकन राष्ट्रपति भए पनि ट्रम्पले निजी क्षेत्रका कम्पनीमा सरकारी हस्तक्षेप बढाउँदै आएका छन्। इन्टेल, यूएस स्टिल, वेस्टिङहाउस र दुर्लभ खनिजसँग सम्बन्धित कम्पनीमा अमेरिकी सरकारको हिस्सेदारी हुने गरी उनले विभिन्न सम्झौता गरेका छन्।
एनभिडियासँगको अर्को सम्झौतामा चीनलाई पुराना चिप बिक्री गर्दा कम्पनीले त्यसबाट हुने आम्दानीको १५ प्रतिशत अमेरिकी सरकारलाई दिने व्यवस्था पनि गरिएको थियो।
यी सम्झौतामाथि अमेरिकी सांसदहरूले प्रश्न उठाउँदै आएका छन्। तर एनभिडियाका प्रमुखलाई पदमा फर्काउन ट्रम्पले खेलेको भूमिकाले भने दुवै राजनीतिक दलका नेताहरूलाई असन्तुष्ट बनाएको छ।
ट्रम्पका पुराना सहयोगी तथा प्रतिनिधिसभाका पूर्वसभामुख न्युट गिङरिचले पनि चीनको जासुस भएको आशङ्का गरिएकी महिलासँग हुआङको सम्बन्धबारे गम्भीर प्रश्न उठाएका छन्।
त्यस्तो विवादमा मुछिएका व्यक्तिलाई विश्वकै सबैभन्दा उन्नत चिप निर्माता कम्पनीको नेतृत्वमा फर्काउनु उचित नभएको उनको टिप्पणी छ।
रिपब्लिकन सिनेटर टिम स्कटले डिसेम्बर ३ मा सिनेटको बैंकिङ समितिमा हुआङलाई बोलाएर बयान लिने घोषणा गरेका छन्। सिनेटमा अल्पमत दलका नेता चक सुमर र प्रतिनिधिसभाका अल्पमत दलका नेता हाकिम जेफ्रिजले पनि हुआङको पुनर्बहालीको निर्णयको आलोचना गरेका छन्।
जेफ्रिजले यसलाई ‘अक्षम्य, गैरजिम्मेवार र बुझ्न नसकिने’ निर्णय भनेका छन्।
यसरी हेर्दा हुआङको पुनरागमन एउटा कम्पनीको प्रमुख कार्यकारी फेरिएको घटना मात्रै रहेन।
यसले अमेरिकामा निजी कम्पनीको स्वायत्तता, राष्ट्रिय सुरक्षा, राष्ट्रपतिको निजी लगानी र एआईमा चीनसँगको प्रतिस्पर्धालाई एउटै बहसमा ल्याइदिएको छ।