सर्वोच्च अदालतले आइजिपीको पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्चका न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा बुधबार दुवै पक्षको बहस भएको हो। उक्त बहस सकेर सर्वोच्चले वेबसाइटमा अन्तरिम आदेश जारी नहुने उल्लेख गरेको छ।
यसको अर्थ आइजिपीमा मनोजकुमार केसीले निरन्तर काम गर्न पाउने भएका हुन्।
इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दा तीन वटा कारण दिएको छ।
पहिलो आइजिपीको रूपमा मनोज केसीले बढुवा नियुक्तिलाई मानेको छ।
‘... डा. मनोजकुमार केसी नेपाल सरकार कात्तिक १८ को निर्णयानुसार आइजिपी पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी सो पदको कार्यभार सम्हालिसकेको भन्ने मिसिलबाट देखिएको,’ पहिलो आधार देखाइएको छ।
दोस्रोमा, सरकारले शान्ति सुरक्षा कायम गरेको कुरालाई आधार मानेको छ।
‘निवेदकले अन्तरिम आदेशको माग गरेको प्रस्तुत विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्वको संवेदनशील विषय भएको,’ आदेशमा भनिएको छ।
तेस्रोमा रिटको अन्तिम सुनुवाइकै क्रममा कानुनी प्रश्नको उत्तर आउने भएकाले अन्तरिम आदेश जारी गर्नुनपर्ने भनिएको छ।
‘निवेदकले माग गरेको न्यायिक उपचार र उठाएका अन्तरिम आदेशको मागसँग अन्तरनिहित कानूनी प्रश्नहरूको रिट निवेदनको अन्तिम सुनुवाई हुँदा निरूपण र सम्बोधन हुने प्रकृतिको देखिँदा सुविधा सन्तुलनको दृष्टिसमेतबाट निवेदन माग बमोजिम हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन,’ आदेशमा भनिएको छ।
सरकारले कात्तिक १८ गते मन्त्रिपरिषद्को निर्णयबाट दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा खटाएको थियो। सरकारको उक्त निर्णयपछि नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा मनोजकुमार केसी नियुक्त भएका छन्। उनले दर्ज्यानी चिह्नसमेत लगाइसकेका छन्।
त्यसैगरी शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड)सँग सम्बन्धित प्रश्न भएकाले यस मुद्दालाई छिटो टुंग्याउनुपर्ने पनि आदेश भएको छ।
‘विषयवस्तुको महत्व, गम्भीरता र संवेदनशीलतातर्प दृष्टि गर्दा छिटो सुनुवाई र निर्णय हुन वाञ्छनीय देखिएबाट प्रत्यार्थीहरूबाट लिखित जबाफ परेपछि वा पर्ने अवधि व्यतित भएपछि सात दिन भित्रै पेसी चढाइ पेसी हटाउन नपाउने पूर्वसूचना दुबै पक्षलाई दिई नियमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ।
आफूलाई गैरकानुनी रूपमा आइजिपी पदबाट हटाइएको भन्दै कार्की पुनर्बहालीको मागसहित सर्वोच्च अदालत पुगेका थिए।
कार्कीले प्रहरी नियमावलीमा महानिरीक्षकको पदावधि चार वर्ष तोकिएको अवस्थामा सरकारले जिम्मेवारी हेरफेरका नाममा पदबाट हटाउन नमिल्ने जिकिर गरेका छन्। प्रहरी नियमावलीमा आइजिपीको अनिवार्य अवकाशको उमेर ५८ वर्ष, सेवा अवधि ३० वर्ष र पदावधि चार वर्ष तोकिएको छ।
कार्कीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले पूर्वआइजिपी अच्युतकृष्ण खरेल र नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको मुद्दामा सर्वोच्च अदालतबाट स्थापित नजिरसमेत प्रस्तुत गरेका थिए।
सरकारी पक्षले भने कार्कीलाई हटाइएको नभई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा थप जिम्मेवारी दिइएको जिकिर गरेको थियो। सरकारले आवश्यकता महसुस गरेर जिम्मेवारी तोक्न सक्ने उसको तर्क थियो।
महान्यायाधिवक्ता नारायणदत्त कँडेलसहित सरकारी वकिलहरूले अन्तरिम आदेश जारी गर्न नहुने माग गरेका थिए।