नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले गगन थापालाई चिन्ने अभिव्यक्ति दिएका छन्।
उनले केही दिनअघि रूपन्देही जिल्ला अधिवेशनमा गगन थापालाई आफूले नचिन्ने बताएका थिए।
त्यसबारे आज चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकारहरूले उनलाई प्रश्न सोधेका थिए।
तपाईंले गगन थापालाई चिन्नुहुन्न है भन्ने प्रश्नमा शशांकको जबाफ थियो, ‘त्यो परिस्थितिमा मैले त्यस्तो भन्नुपर्यो, नचिन्ने त होइन, तर उसलाई महत्त्व दिन्नँ, यति मात्र भन्छु।’
कोइरालाले मंसिर ६ गते रूपन्देही अधिवेशनमा गगनलाई नचिन्ने अभिव्यक्ति दिएका थिए।
‘नाम नै नलिनुस्, को हो गगन थापा, म त चिन्दा पनि चिन्दिनँ,’ उनको भनाइ थियो। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर महाधिवेशन तयारीसमेत गरिरहेको छ।