नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारी र हालसम्मको प्रगतिबारे बुधबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा छलफल गरेको छ।
नेता प्रकाशशरण महतका अनुसार अहिलेसम्म ७७ जिल्लामध्ये ६० जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी जिल्ला अधिवेशन चार-पाँच दिनभित्र सम्पन्न गर्ने तयारी रहेको उनले बताए।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन पनि करिबकरिब सकिएको उनले जानकारी दिए।
सात प्रदेशमध्ये गण्डकी र लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी प्रदेशको अधिवेशन मंसिर १९ गतेभित्र सक्ने तयारी रहेको नेता महतले बताए।
देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१ गतेदेखि काठमाडौंमा सुरू गर्ने तयारी गरेको छ। महाधिवेशनका लागि व्यवस्थापन, दस्तावेज, विधानलगायत विषयमा थप तयारी गर्नुपर्ने अवस्था रहेको महतको भनाइ छ।
महाधिवेशन तयारी समिति संयोजक शशांक कोइराला छन्। उनलाई महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारीसमेत दिइएको छ।
प्रदेश तहसम्म पदाधिकारी र कार्यसमितिको आकार बढाइएको अवस्थामा केन्द्रमा पनि पदाधिकारी संख्या बढ्न सक्ने चर्चा छ।
यद्यपि, यस विषयमा औपचारिक छलफल हुन बाँकी रहेको महतले जानकारी दिए।