नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन्।
धनगढीमा बिहीबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले रेमिट्यान्समार्फत नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताएका हुन्।
‘करिब १७ देखि २० प्रतिशत सक्रिय र सक्षम नेपाली विदेशमा छन्। उनीहरूले आफ्नो श्रम, सीप र पुँजीमार्फत देशको अर्थतन्त्र धानिरहेका छन्। सामाजिक र आर्थिक अधिकारको कुरा गर्दै आएका हामीले अब मतदानको अधिकार पनि कार्यान्वयन गर्नुपर्छ,’ महरले भने।
महरले आर्थिक योगदान गर्ने नागरिकलाई राजनीतिक निर्णय प्रक्रियाबाट बाहिर राख्नु राजनीतिक अर्थशास्त्रको दृष्टिले पनि असमानता भएको उल्लेख गरेका थिए।
विदेशस्थित नेपाली दूतावासमार्फत मतदान केन्द्र स्थापना, सुरक्षित वैकल्पिक मतदान प्रणाली, मतदाता दर्ता तथा श्रमिकको सुरक्षा, कानुनी सहायता र सामाजिक सुरक्षाको प्रभावकारी व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरेका थिए।
‘देशको अर्थतन्त्रमा योगदान गर्ने नेपालीको मत देशको भविष्य निर्माणमा पनि प्रतिबिम्बित हुनुपर्छ। आगामी निर्वाचनबाटै विदेशमा रहेका नेपालीको मताधिकार कार्यान्वयन गर्नु लोकतन्त्र र राष्ट्रिय अर्थतन्त्रप्रतिको सम्मान हो,’ उनले भने।