महिनामा कम्तीमा एक पटक आफ्नो निर्वाचन क्षेत्र (गोरखा -२) पुगेर स्थानीयका समस्यासँग बुझ्ने गरेका पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले यसपटकको गाउँ यात्रामा ऐँसेलु टिपेर बाल्यकालको स्मरण गरेका छन्।
गोरखा सिरानचोक गाउँपालिका -१ केराबारी जंगलमा उनले ऐँसेलु टिपेर खाएको फोटो ट्वीट गर्दै लेखे- उत्तरी गोरखाको केराबारी जंगलमा अर्गानिक ऐँसेलु टिपेर खाँदा बाल्यकालको गोठाले जीवनको याद। डेढ वर्षअघि भएको चुनावमा सांसद चुनिएका भट्टराईले थप लेखेका छन्- पूर्वाधार विकास गर्न सके कृषि पर्यटन विकासको संभावनाको सुन्दर परिकल्पना। ऐँसेलु खाएको फोटो उनले फेसबुक र ट्वीटरमा राखेका छन्।
साथै, भट्टराईले गोरखाका विभिन्न गाउँ पुगेर स्थानीय बासिन्दाका समस्या सुनेका थिए।
अर्थमन्त्री भएदेखि नै भट्टराई महिनाको एक पटक गोरखाका भिन्नभिन्न गाउँ पुगेर जनताकै घरमा खाने र बास बस्ने गरेका छन्।