प्रतिनिधि सभा सांसद महावीर पुनलाई पोखरामा अभद्र व्यवहार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पुनले आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्दैगर्दा गत सोमबार अभद्र व्यवहार गरेको आरोपमा पोखरा– १३ बाँझापाटनका विकास गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।
पुनले पुस्तक विक्री गर्दैगर्दा अभद्र व्यवहारका साथै अपशब्द प्रयोग गरेको सामाजिक सञ्जालमा देखिएकाले पक्राउ गरी अनुसन्धान अघि बढाएको कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए।
उनका अनुसार पक्राउ परेका गुरूङ यसअघि तीन पटक लागु औषध मुद्दामा सजाय पाएको अभिलेखमा देखिएको छ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पुन: केही दिनयता पोखराका चोक चोकमा पुस्तक बिक्री गरिरहेका छन्। उनले पुस्तक बिक्रीबाट प्राप्त रकम वीरगञ्ज कृषिऔजार कारखाना चलाउन खर्च गर्ने बताएका छन्।