अर्घाखाँचीको नरपानीमा भएको जीप दुर्घटनामा एकै घरका श्रीमान श्रीमतीको मृत्यु भएको छ भने उनीहरूका दुई छोरी घाइते भएका छन्।
मृत्यु हुनेमा दाङको लमही नगरपालिका वडा नं. ५ का ५१ वर्षीय घनश्याम खनाल र उनकी श्रीमती ४६ वर्षीया श्यामकला खनाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
मृतक दम्पत्तिका दुई छोरी १६ वर्षीया विन्दु खनाल र १२ वर्षीया अनिता खनाल घाइते छन्। उनीहरूको सन्धिखर्कमा उपचार हुन नसकेपछि थप उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवा रिफर गरिएको विष्टले जानकारी दिए।
खनाल परिवार अर्घाखाँचीमा रहेको आफ्नो पुर्ख्यौली थलोमा दसैं मनाउन जाँदै थिए।
कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नं. को स्कार्पियो जीप मंगलबार साढे १२ बजेतिर सन्धिखर्क नगरपालिकाका वडा नं. ६ घुम्ती र नरपानीको बीचमा पर्ने रातामाटास्थित साङखोलामा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी मृत्यु भएका अन्दाजी २५/३० वर्षका युवकको भने पहिचान खुल्न सकेको छैन। चालकसहित ९ जना सवार उक्त जीप ओरालो सडकमा अनियन्त्रित भई सडकदेखि तीनसय मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनामा परी जीपका चालक कपिलवस्तु बुद्धभूमिका वीरेन्द्र श्रेष्ठ पनि घाइते भएका छन्। उनीसहित अरु तीन जना यात्रु पनि घाइते रहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए।