खुलामञ्च टुँडिखेलको यस्तो हिस्सा हो, जसले हामीलाई नेपालको प्रजातान्त्रिक आन्दोलन सम्झना गराउँछ।
त्यहाँको सार्वजनिक ‘अडिटोरियम’ ले २०४६ सालको जनआन्दोलन सम्झाउँछ, जसले तीसवर्षे पञ्चायत ढालेर बहुदल पुनर्स्थापना गर्यो।
यसले २०६२ सालको दोस्रो जनआन्दोलन पनि सम्झाउँछ, जसले नेपालबाट कम्तीमा दुई हजार वर्ष पुरानो राजतन्त्र अन्त्य गर्यो।
यसबाहेक साना–ठूला राजनीतिक विरोध र गतिविधिहरू सम्झाउँछ, जसले लोकतन्त्र स्थापित गर्न एक–एक इँटा थप्यो।
खुलामञ्च काठमाडौंको त्यस्तो सार्वजनिक स्थल पनि हो, जहाँ दिनैभरिजसो सर्वसाधारण फुर्सद काट्न आइपुग्थे। चटकेहरू करतब देखाउँथे। साँझ बेला कामकाज सकेर सुस्ताउन आउनेहरू टन्नै हुन्थे।
पञ्चायतदेखि राजतन्त्रसम्मको विरोध देखेको र व्यस्त काठमाडौंलाई सास फेर्ने ठाउँ दिएको यो खुलामञ्च नामअनुसार खुला छैन। आधाभन्दा बढी क्षेत्रमा बसपार्क चलिरहेको छ। काठमाडौं महानगरपालिकाले करिब चार वर्षअघि पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दिएपछि त्यहाँको पार्किङ खुलामञ्च सारिएको छ।
केही भागमा निर्माणाधीन दरबार हाइस्कुल र वीर अस्पतालका निर्माण सामग्री थुपार्ने गोदाम र कामदार बस्ने घरहरू पनि बनेका छन्।
लगभग एकचौथाइ हिस्सा भने यस्तो छ, जुन अरूजस्तो अतिक्रमित पनि छैन, हामीले सोचेजस्तो खुला पनि छैन।
यहाँ चारैतिर फोहोरको डुंगुर छ। हिलै–हिलो छ। निजी कारहरू दिनैभरि पार्क गरिएका देखिन्छन्। वीर अस्पतालमा बिरामी भेट्न आउनेहरूलाई सवारी थन्क्याउने पायक ठाउँ बनेको छ। यो पार्किङ कसैको अनुमतिमा भएको होइन। जसरी खुलामञ्चको बाँकी भू–भागमा अस्थायी बसपार्क चलाउन महानगरले अनुमति दिएको छ, त्यस्तै निर्णय यो हिस्साका लागि भएको छैन।
‘अकुपाई टुँडिखेल’ अभियन्ताहरू खुलामञ्चको यही हिस्सा खाली गराउन सक्रिय भएका छन्।
टुँडिखेल अतिक्रमणमुक्त गर्ने नागरिक अभियानको छैठौं साताको कार्यक्रममा आज शनिबार अभियन्ताहरूले खुलामञ्च सरसफाइ गरे। बिहान ९ बजे भेला भएर यहाँ थुप्रिएका फोहोर हटाए।
हिलो माटोले यो ठाउँ अस्तव्यस्त थियो। अभियन्ताहरूले उक्त माटो सम्याए। खुलामञ्चअगाडि जमेको हिलो पानी माटोले पुरे। यो सरसफाइ र भुइँ सम्याउन अभियन्ताहरूले ‘जनताको डोजर’ चलाएका थिए।
‘सम्पदा संरक्षणमा डोजरलाई राम्रो आँखाले हेरिन्न। सरकारले धेरै ठाउँमा डोजर चलाएर सम्पदा विनाश गर्यो,’ अभियन्ता सुसन वैद्यले सेतोपाटीसँग भने, ‘डोजर सरकारसँग मात्र छैन, जनतासँग पनि छ। हामी सम्पदा भत्काउन होइन, भत्केको सम्पदा सपार्न डोजर चलाउँदैछौं।’
तीन घन्टाभन्दा बढी चलेको यो सरसफाइपछि खुलामञ्च क्षेत्र पहिलेभन्दा सफा र व्यवस्थित देखिएको छ। प्लास्टिक र सिमेन्ट बोराको थुप्रो हटेका छन्। चउरभरि यताउति माटोको ढिस्को सम्याइएको छ।
‘आजको सरसफाइलाई एक सातासम्म जोगाएर राख्नुपर्नेछ,’ अभियन्ता आलोकसिद्धि तुलाधरले भने, ‘अर्को शनिबार दोस्रो चरणको सरसफाइ, माटो सम्याउने र सौन्दर्यकरण गर्ने तयारी गर्दैछौं।’
खुलामञ्च ‘अडिटोरियम’ अगाडिको यो क्षेत्र नागरिक स्तरबाटै खुला गराउन सकिन्छ। यहाँ अनधिकृत पार्किङ भइरहेको भन्दै महानगरले हटाउन निर्देशन दिइसकेको छ। दुई साताअघि उपमेयर हरिप्रभा खड्गीले टुँडिखेल क्षेत्र निरीक्षण गरी उक्त निर्देशन दिएकी थिइन्। त्यो निर्देशन कार्यान्वयन भएको छैन।
महानगरले नै ‘अनधिकृत’ भनेको पार्किङ हटाउने जिम्मेवारी नागरिकको पनि हो। अहिलेलाई दुवैतर्फ ढोका बन्द गरेर ‘नो पार्किङ’ बोर्ड लगाउनेबित्तिकै निजी गाडी छिर्न स्वतः बन्द हुन्छ। वडा कार्यालयले सहयोगी भूमिका खेल्न सक्छ। महानगरको निर्देशन कार्यान्वयन गर्नु उसको दायित्व हो।
त्यसपछि यो क्षेत्रमा बोटबिरुवा रोप्न, फूलका गमला राख्न र थोरै भू–भागमा इँटा बिछ्याउन सकिन्छ।
सार्वजनिक स्वामित्वको जग्गा सिँगारेर बगैंचा वा खुला स्थल बनाउन जनताले कसैको अनुमति लिइराख्नु पर्दैन। यति गरियो भने बृहत् टुँडिखेलको यो सानो हिस्सा तत्काल खुला हुनेछ। यसले नमूना बगैंचाको काम गर्नेछ। खुला स्थल निर्माणको अभियानमा सकारात्मक सन्देश दिनेछ।
काठमाडौंका जागरूक नागरिकहरूले कात्तिक २३ गते खुलामञ्च मानव साङ्लोले घेरेर ‘अकुपाई टुँडिखेल’ अभियान सुरू भएको थियो। त्यसयता प्रत्येक शनिबार टुँडिखेलकै बीचमा जनचेतनामूलक कार्यक्रम हुँदै आएको छ।
एउटा शनिबार टुँडिखेलको पुरानो सम्झना सजीव पार्दै नयाँ र पुरानो पुस्ताका प्रतिनिधिले खरीको बोट रोपे। त्यसपछिको शनिबार टुँडिखेलसहित खुला स्थलको महत्व झल्काउने गरी कविता वाचन गरियो। त्यस्तै, टुँडिखेलको ऐतिहासिक, सांस्कृतिक, पर्यावरणीय र सम्पदा महत्वमाथि सम्बन्धित क्षेत्रका विज्ञहरूले प्रकाश पारे। दक्षिण एसियाली खेलकुद (साग) को अवसरमा तेक्वान्दो पनि प्रदर्शन गरियो।
विगतमा रानीपोखरीदेखि रंगशालासम्म फैलिएको टुँडिखेललाई पुरानो स्वरूपमा फर्काउने र कुनै पनि भौतिक संरचना नभएको खुला सार्वजनिक स्थलमा परिणत गर्ने उद्देश्यले नागरिक स्तरमा यो अभियान सुरू भएको हो।
काठमाडौं मेयर विद्यासुन्दर शाक्यले भने यसलाई ‘राजनीतिक स्टन्ट’ भनी आलोचना गर्दै आएका छन्। यो अभियानको कुनै अर्थ नरहेको उनले बताएका छन्।
उनले शुक्रबार एक कार्यक्रममा बसपार्क सार्नेदेखि सैनिक भवनहरूको निर्माण आफ्नो कार्यकालभन्दा अगाडि नै भइसकेको प्रस्टीकरण दिए।
‘म आएपछि खुलामञ्चको केही भागमा दरबार हाइस्कुल र वीर अस्पतालका निर्माण सामग्री राख्न अनुमति दिएको हुँ,’ उनले भने, ‘यी दुवै राज्यबाटै भइरहेको पुनर्निर्माण हो, संघीय सरकारले आग्रह गरेपछि हामीले सहयोग गरेका हौं।’
उनका अनुसार, मंसिरभित्र दरबार स्कुलका गोदाम र कामदार बस्ने ठाउँ हट्दैछ। वीर अस्पतालको काम थप एक महिनामा पूरा हुन्छ। धरहरा पुनर्निर्माण क्रममा थुपारिएको माटो हटाउन सुरू गरिसकेको उनले बताए।
आगामी तीन महिनाभित्र खुलामञ्च र टुँडिखेल क्षेत्रमा थुपारिएका माटो, निर्माण सामग्री र कामदारहरूको बस्ने ठाउँ हट्ने उनले दाबी गरे।
मेयर शाक्यले यही कार्ययोजना राखेर छलफल गर्नुपर्नेमा ‘राजनीतिक स्टन्ट’ को आरोप लगाउँदै हिँडेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका छन्। टुँडिखेललाई कसरी खुला सार्वजनिक स्थल बनाउन सकिन्छ भनी छलफल गर्न खोज्दा मेयरले समय नदिएको अभियानका संयोजक विजय श्रेष्ठले बताए।
‘हाम्रो अभियान गैरराजनीतिक हो। हामी काठमाडौंलाई माया गर्ने नागरिकहरूले टुँडिखेलको हालत देखेर भतभती छाती पोलेपछि स्वतस्फुर्त अभियान सुरू गरेका हौं,’ उनले भने, ‘हामीलाई राजनीति गरेको आरोप लगाएर मेयरसापले नागरिक अभियानको अपमान गर्दै हुनुहुन्छ।’
आफूहरू टुँडिखेल मास्न होइन, अतिक्रमणमा परेको टुँडिखेल कसरी खुला गर्ने भनी सकारात्मक योगदान गर्न खोजेको उनले बताए।
‘महानगरले हामीलाई दुश्मन ठान्नुपर्ने जरूरत छैन, हामी टुँडिखेललाई पुरानो स्वरुपमा फर्काउन रचनात्मक सहयोग गर्न चाहन्छौं। हामीलाई कुनै राजनीतिक लाभ लिनु छैन। हामी काठमाडौं सहर सुन्दर र बस्नलायक होस्, यहाँका सम्पदा र संस्कृतिहरू जस्ताको तस्तै रहोस् भन्ने चाहन्छौं,’ उनले भने।
यसको सुरूआत अर्को शनिबारबाटै हुनसक्छ, खुलामञ्चलाई ‘खुला’ बनाएर।
सबै तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी