उद्योग व्यवसाय संचालनमा प्रदेश सरकारले अवरोध गरेको भन्दै प्रदेश दुईका क्रसर व्यवसायीहरुले कामकाज ठप्प पारेका छन्।
प्रदेश सरकार तथा प्रहरी प्रशासनले कानून विपरित क्रसर व्यवसायमा रोक लगाएको भन्दै उद्योगीहरुले काम गर्ने वातावरण नबनेको दावी गरे।
क्रसर व्यवसायीले प्रदेश दुईको मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै प्रदेश सरकार तथा प्रहरी प्रशासनले व्यवसायमा अवरोध उत्पन्न गरेको बताए। अवरोध नहटाएसम्म आफूहरुको आन्दोलन जारी रहने क्रसर उद्योग संचालक समितिका वरिष्ठ उपाध्यक्ष सीताराम न्यौपानेले चेतावनी दिए।
वरिष्ठ उपाध्यक्ष न्यौपानेले बाँकी सबै प्रदेशमा क्रसर व्यवसाय निर्वाध रुपमा संचालनमा रहेको भन्दै प्रदेश दुईमा मात्रै सरकारले क्रसर व्यवसायीहरुमाथि विभेद गरेको आरोप लगाए।
क्रसर व्यवसाय संचालन अवरोध हुँदा अरबौंको क्षति भएको भन्दै धनुषा, महोत्तरी, सिरहा र सर्लाही गरी चार जिल्लाको क्रसर व्यवसाय नै समाप्त हुने खतरामा रहेको व्यवसायीको भनाई छ।
समितिले गत पुस २५ गते धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ औरही खोलामा भएको घटनामा संलग्न रहेका दोषीहरु माथि कडा कारबाही गर्न समेत माग गरेको छ। यसका साथै सोही घटनाको आधारमा अन्य क्रसर उद्योगीहरुको व्यवसाय संचालनमा अवरोध गरिएकोले सो अवरोध नहटाइए कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने समितिको चेतावनी छ।