काठमाडौंको शंखरापुर नगरपालिका ६ का प्रवीण श्रेष्ठ सोमबार राति ढुल्ला भन्ने ठाउँमा सडकछेउमा पल्टिएका थिए। केही वर्षदेखि उनको मानसिक अवस्था बिग्रिएको थियो। ४२ वर्षीय श्रेष्ठ कहिले घर आउँथे कहिले बाहिरै बस्थे। आमाबुवा र छोराछोरी कोही नभएकाले उनलाई रेखदेख गर्ने मान्छे थिएन।
सोमबार राति पौने १० बजेतिर ढुल्लामा बत्तिँदै आएको टिपरले श्रेष्ठलाई ठक्कर दियो। उनको शरिरभरि चोट लाग्यो। हतारमा दौडिरहेको टिपर भाग्यो। स्थानीयलाई खबर गरेपछि प्रहरी आयो। आफ्नै गाडीमा हालेर सुष्मा मेमोरियल अस्पताल पुर्यायो। त्यतिञ्जेल श्रेष्ठको मृत्यु भइसकेको थियो।
‘एम्बुलेन्स नभेटेर हामीले आफ्नै गाडीमा अस्पताल पुर्यायौं तर डाक्टरले एकछिनमै मृत घोषणा गर्नुभयो,’ शंखरापुरका प्रहरी निरीक्षक गोविन्द पन्थीले सेतोपाटीसँग भने।
पन्थीका अनुसार ठक्कर दिएर भागेको टिपर खोज्न दुबै नाका बन्द गरिएको थियो।
‘केहीबेरमा सबै टिपर जाँच गर्दा एउटामा रगत लागेको देखियो। ना १ क ४५६४ नम्बरको उक्त टिपरका चालकले मान्छे देखिनँ, ठोक्कियो भनेर स्वीकारे,’ पन्थीले भने।
शंखरापुर ६ का वडाअध्यक्ष राधाकृष्ण श्रेष्ठका अनुसार अविवाहित प्रवीणको अवस्था केही वर्षदेखि बिग्रिएको थियो।
‘कहिले घर जानुहुन्थ्यो कहिले यत्तिकै हिँड्नुहुन्थ्यो,’ श्रेष्ठले भने,‘हिजो त्यस्तो घटना भएछ।’