नेपाल वायु सेवा निगमले काठमाडौंदेखि अष्ट्रेलियाको ब्रिसबेनसम्म बुधबार चार्टर्ड उडान गर्यो।
काठमाडौंस्थित अष्ट्रेलियाली राजदूतावासले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरेर २ सय ५७ जना आफ्ना नागरिकलाई लगेको थियो।
उक्त जहाज बिहीबार काठमाडौं फर्किने छ।
नेपालमा रहेका आफ्ना नागरिक लैजान अष्ट्रेलियाली दूतावासले चार्टर्ड गरेको उक्त उडान विवादित बनेको छ।
दूतावास र नेपाल एयरलाइन्सबीचको व्यापारमा एजेन्ट घुसाएर कमिसनको खेल भएको कुरा बाहिरिएको छ।
नेपाल एयरलाइन्सका अधिकारीले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्।
नेपाल एयरलाइन्सका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले चार्टर्ड उडानमा कुनै पनि अनियमितता नभएको र सबै कुरा पारदर्शी भएको बताए। आवश्यक परे सम्बन्धित ठाउँमा सफाइ दिन आफूहरू तयार रहेको उनको भनाइ छ।
कसरी छिर्यो एजेन्ट?
३० मार्चमा अष्ट्रेलियाली दूतावासले नेपाल नागरिक उड्डयन प्राधिकरणमा चार्टर्ड उडानका लागि निवदेन दियो।
दूतावासको उक्त निवेदनमा स्पष्ट रूपमा चार्टर्ड गर्ने पार्टी दूतावास भएको भनिएको छ।
उक्त पत्रअनुसार नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गर्न लागिएको खुलाइएको छ। यसमा कुनै पनि एजेन्ट वा तेस्रो पक्षको सहभागिता उल्लेख छैन।
तर जहाजको टिकेटिङ र चार्टर्ड सम्झौता भने काठमाडौंमा रहेको बोन ट्राभल र नेपाल एयरलाइन्सबीच भयो।
दूतावासले सिधै अनुरोध गरेको अवस्थामा नेपाल एयरलाइन्स आफैंले टिकेटिङ गर्न सक्ने अवस्थामा एजेन्ट घुसाइएको पाएपछि अनियमितताको आशंका उत्पन्न भएको छ।
‘लक डाउन भएपछि नेपालमा भित्रै विदेशी नागरिक बोक्न अन्य एयरलाइन्सले पनि चार्टर्ड उडान गरिरहेका छन्। उनीहरू आफैंले टिकेटिङ गरिरहेका छन्,' एक निजी एयरलाइन्सका प्रतिनिधिले सेतोपाटीसँग भने, ‘नेपाल एयरलाइन्सले पनि त्यति गर्न नसक्ने होइन। किन गरिएन भन्ने कुरा स्पष्ट छ। यो कमिसनको खेल हो।’
नेपाल एयरलाइन्स र दूतावासबीच सिधै चार्टर्ड सम्झौता भएको भए कमिसनबापत् एक रुपैयाँ पनि बाहिर जाने थिएन।
लक डाउनपछि कैयौं देशका दूतावासले आफ्ना नागारिक पठाउन विदेशी एयरलाइन्स चार्टर्ड गरेका छन्। ती एयसलाइन्सले कुनै ट्राभल एजेन्टमार्फत् नभई आफैं टिकट काटेका छन्। तर नेपाल एयरलाइन्सले त्यसो गरेन। उसले एजेन्ट घुसायो।
एजेन्ट छिरेपछि स्वभाविक रूपमा उसले कमिसन लिन्छ। एयरलाइन्सको आम्दानी घट्छ। अनि एजेन्टले पाएको कमिसन एयरलाइन्सका पदाधिकारीसम्म पुग्ने बाटो खुल्छ।
नेपाल एयरलाइन्सका निमित्त महाप्रबन्धक चन्द भने दूतावासको पत्रकै आधारमा बोन ट्राभलसँग सम्झौता गरिएको बताउँछन्।
‘हामीले यसमा आफैं केही गरेका होइनौं। कुनै ट्राभल कम्पनीले आफैं चार्टर्ड अनुमति मागेर अहिले पाउँदैन। त्यसैले दूतावासले चार्टर्डको अनुमति माग गरेर पत्र लेखेको हो। त्यसपछि उसले आफ्नो आधिकारिक ट्राभल एजेन्ट बोन ट्राभल्स भएकोले उसैसँग सम्झौता गर्न भनेर इमेल पठाएको छ। त्यही इमेलका आधारमा हामीले बोनसँग सम्झौता गरेका हौं,’ चन्दले भने।
दूतावासले बोन ट्राभल्ससँग सम्झौता गर्न भनेर पठाएको इमेल सार्वजनिक गर्न सक्नुहुन्छ भन्ने सेतोपाटीको प्रश्नको उत्तरमा चन्दले भने, ‘त्यो व्यावसायिक पत्र हो। कतिपय गोप्यता हुन्छन्। दिनुपर्ने निकायमा हामी त्यो दिनसक्छौं।'
दूतावासले पत्र नै लेखेको भए पनि यो सबै कमिसनका लागि मिलेमतोमा भएको नेपाल एयरलाइन्स स्रोतले सेतोपाटीलाई बतायो। एयरलाइन्सनिकट स्रोतका अनुसार दूतावाससँगको छलफलमा टिकेटिङको काम आफैं गर्ने एयरलाइन्सले बताएको भए दूतावासले ट्राभल एजेन्टमार्फत् आऊ भन्न सक्ने थिएन, किनभने ‘चार्टर्ड फ्लाइटमा’ एयरलाइन्सले एजेन्टको संग्लनता नस्वीकार्न पाउछ।
‘तर सेटिङ मिलाएर एजेन्ट घुस्ने बाटो बनाइयो,’ स्रोतले बतायो।
कमिसन कति पाउँछ एजेन्टले?
बोन ट्राभलसँग एयरलाइन्सले प्रति घन्टा १८ हजार १ अमेरिकी डलरका दरले सम्झौता गरेको छ। एयरलाइन्सका अनुसार यो उडान २५ घन्टा २५ मिनेटको हुनेछ। यसअनुसार नेपाल एयरलाइन्सले ४ लाख ५७ हजार २५ डलर पाउने छ। आजको विनिमय दरअनुसार उक्त रुपैयाँ ५ करोड ४८ लाख ४३ हजार हुन्छ।
यसमा बोनले अब टिकेटिङको कमिसनबापत् जम्मा मूल्यको ५ प्रतिशत अर्थात् २७ लाख ४२ हजार १५० रुपैयाँ कमिसन सिधा कमिसन पाउँछ। यसमा एजेन्सीले टिकेटिङको सेग्मेन्ट आम्दानी पनि पाउँछ। उसले यसमा प्रतिसेग्मेन्ट प्रतिटिकट ५ डलर पाउँछ। अर्थात् २५७ टिकटबाट २ सेग्मेन्टको ३ लाख ८ हजार रुपैयाँ छुट्टै पाउँछ।
यस हिसाबले एजेन्टले सोझै कमाउने रकम ३० लाख बढी हुन्छ। यसबाहेक उसले थप आम्दानी गर्छ। जस्तो जहाजको चार्टर्ड गर्दा सबै सिट उसैको अधिकार हुन्छ। उसले सिटको अधिकतम बिक्री गरेर पनि थप आम्दानी गर्छ। नेपाल एयरलाइन्सको जहाज चार्टर्डमा पनि बोन ट्राभलले यसरी थप ७ लाख आम्दानी गरेको छ। यो सबै हिसाबले ट्राभलले ३७ लाख बढी आम्दानी गरेको छ।
नेपाल एयरलाइन्सले एजेन्ट अस्वीकार गरेको भए एक रुपैयाँ पनि बाहिर दिनु पर्थेन। एजेन्ट स्वीकार गरेर ३७ लाख बढी गुमाएको छ।
‘एयरलाइन्सका कर्मचारीले केही पैसा ऐजन्टबाट पाए होलान्, तर यसले कम्पनीलाई ठूलो घाटा लाग्यो,’ स्रोतले भन्यो।