स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्ति रहेको जनाएका छन्।
मंगलबार नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोग गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको बताएका हुन्।
उनले कोरोना संक्रमण नियन्त्रयणकै स्थितिमा रहेको दाबी गरे। उनले दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण गर्ने तयारी रहेको समेत बताए।
उनले असार १५ गतेबाटै १० हजार जनाको पिसिआर परीक्षण गर्ने प्रतिवद्धता गरेका थिए। उनले देशभर ३३ वटा प्रयोगशाला पुर्याएर दैनिक १० हजार जनाको परीक्षण गरिने जनाए।
परीक्षण क्षमता बढाउन सरकारले निजी प्रयोगशालाहरूसँग सहकार्य गर्ने जनाए पनि अहिलेसम्म निजी प्रयोगशालाहरूले परीक्षण सुचारू गरेको छैन।
निजी प्रयोगशालाहरूलाई परीक्षण गर्न दिन मापदण्ड जारी गरिए पनि प्रयोगशालाहरूको अनुमगन नहुँदा परीक्षण सुरु भएको छैन। मन्त्रालयले निजी प्रयोगशालाहरूबाट दैनिक १५ सय देखि २ हजार जनाको परीक्षण गर्ने लक्ष्य लिएको छ।