मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरमा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।
सोमबार बिहान कृष्णपुर नगरपालिकाको वडा नम्बर-५ वनदेवीस्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा परी सशस्त्र प्रहरीमा कार्यरत २४ वर्षकी तारा कुँवरको मृत्यु भएको हो।
महेन्द्रनगरबाट धनगढी आउँदै गर्दा म १ प ८९१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीमा कार्यरत उनका श्रीमान चन्द्र बहादुर बोहरा(चालक) घाइते भएका छन्।
दार्चुलामा कार्यरत मृतक कुँवर श्रीमान बोहरालाई भेट्न धनगढी आएकी थिइन्।
उनीहरूले भागी विवाह गरेको भन्ने बुझिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए। यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
दुर्घटनामा घाइते भएकी उनलाई अत्तरियास्थित पद्मा अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो।