गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित कन्टारमा गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ७:५५ बजे मनकामनाबाट दर्शनार्थी बोकेर आबुखैरेनीतर्फ आउँदै गरेको गाडी गति अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।
सशस्त्र प्रहरी बलका डिएसपी तथा प्रवक्ता शैलेन्द्र थापाका अनुसार गाडीमा चालकसहित १४ जना सवार थिए। तीमध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा ५ जना पुरूष र २ जना महिला छन्। उनीहरूको पहिचान खुलेको छैन। बागमती प्रदेश ००६ ख ८४३० नम्बरको गाडीमा भारतीय यात्रुहरू रहेको बताइएको छ।
दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि आँबुखैरेनीतर्फ पठाइएको छ।
दुर्घटनास्थलमा रहेका पत्रकार विनोद श्रेष्ठका अनुसार गाडी गोरखाको सहिद लखन गाउँपालिकाको कनटारस्थित सडकबाट खसेको हो। दुर्घटनास्थल आँबुखैरहनी–गोरखा सडकबाट भित्र पर्छ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी खटिएका बताए।
'विस्तृत विवरण लिने प्रयास भइरहेको छ,' उनले भने।