सूर्य नेपाल प्रालिले प्रदेश- ५ लाई १ करोड रुपैयाँ सहयोग गरेको छ।
प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको हो।
उक्त रकम मुख्यमन्त्री शंकर पोखरेललाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले हस्तान्तरण गरेका हुन्।
सो अवसरमा केसीले कोरोना कोषमा उपलब्ध गराएको रकम कोरोना नियन्त्रण तथा उपचारका लागि उपकरण खरिदमा खर्च गर्न आग्रह गरे।
लकडाउनका कारण आर्थिक अवस्था शिथिल भइरहेको अवस्थामा पनि सूर्य नेपालले देश र राष्ट्रका लागि योगदान स्वरूप कोषमा रकम जम्मा गरेको बताए।
त्यस्तै, उनले बजार र सम्भावनाका आधारमा प्रदेश ५ मा पनि आफ्ना व्यवसायलाई विस्तार गर्ने बताए।
१ करोड रुपैयाँको चेक बुझ्दै मुख्यमन्त्री पोखरेलले कोभिड कोषमा जम्मा गरेको रकम स्वास्थ्य क्षेत्रमै खर्च गरिने बताए।
कोरोना संक्रमण निर्मूल नहुन्जेलसम्म कोषमा भएको रकम स्वास्थ्य क्षेत्रमै खर्च गर्ने यद्यपि रकम अपुग भएमा थप रकमको जोहो गर्ने गरी प्रदेश सरकार लागेको उनले बताए।
मुख्यमन्त्री पोखरेलले प्रदेश ५ मात्र नभई ५२ वटा जिल्लाका नागरिक भारतबाट यही प्रदेशका नाका प्रयोग गरी भित्रिँदा एकैपटक धेरै संक्रमित फेला परेको भए पनि अहिले भने अवस्था नियन्त्रणतर्फ गएको बताए।
उनले करिब ४ हजार संक्रमित फेला परेकोमा अहिले भने ८० प्रतिशत भन्दा धेरै व्यक्ति निको भएर घर फर्किएको बताए।
उनले प्रदेश ५ औद्योगिक, पर्यटनका क्षेत्रमा अब्बल रहेको भन्दै प्रदेशमा लगानी ल्याउन केसीलाई आग्रह गरे।
औद्योगिक वातावरण बनाउन प्रदेश सरकारले विद्युत्, सडक निर्माण गर्ने निर्णय गरेको भन्दै उद्योगको लगानीलाई प्रदेशमा ल्याउन आग्रह गरे।