अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडिएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई भगाएका छन्।
बेनी शहरका मेयर मोडेस्टे बकवानामाहाले काङबायी कारागारमा भिडन्तका क्रममा एक कैदीको ज्यान गएको जानकारी दिए।
उनले जेलबाट फरार कुनै शंकास्पद व्यक्ति देखे स्थानीय प्रशासन, प्रहरीमा खबर गर्न नगरबासीलाई अनुरोध गरिएको पनि बताए।
मेयर मोडेस्टेले कारागारबाट भागेका २० जना कैदी भने फर्किएको जानकारी दिए। स्थानीय प्रशासनको सम्पर्कमा आएका कैदीबन्दीहरूले विद्रोहीसँगको जीवन आफ्ना लागि अझ खतरापूर्ण र दुःखदायी रहेकाले फर्किएको बताएका छन्।
काङबायी जेल तोडिएको समाचार आएलगत्तै स्थानीयबासीमा त्रास उत्पन्न भएको छ।
सरकारी फौज र एडिएफबीच हिंसात्मक झडप हुने र त्यसबाट स्थानीयबासी प्रताडित हुने खतरा रहेको स्थानीयको भनाइ छ।
स्थानीयबासी सदी अमुन्डालाले यो बेनीका स्थानीयका लागि खतरा भएको बताए। जेल जीवनमा सुधार ल्याउन तथा स्थानीय तहमा सुरक्षा व्यवस्था बढाउन सरकारले विशेष पहल गर्नु पर्नेमा उनले जोड दिएका छन्।
यसअघि तीन वर्ष पहिले पनि काङबायी कारागारमा आक्रमण गरेर १०० भन्दा बढी कैदीबन्दी भगाइएको थियो। त्यसबखत दर्जनौं व्यक्तिको मृत्यु भएको थियो।
एडीएफ नामले परिचित अलाइड डेमोक्रेटिक फोर्सको जन्म छिमेकी युगान्डाबाट सुरु भएको र यो समूह लामो समयदेखि पूर्वी कंगोका लागि सुरक्षा खतरा बन्दै आएको छ । इस्लामिक स्टेट समूहले कारागारमाथिको हमलाको जिम्मेवारी लिएको छ ।