गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि स्थानीयले पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्ड अवरुद्ध पारेका छन्।
गल्छी गाउँपालिका-३ का करिब ६२ वर्षीय बुद्धिबहादुर बयलकोटीलाई गाडीले ठक्कर दिँदा बुधबार साँझ ७ बजे घटनास्थलमै मृत्यु भएको थियो।
उनलाई गल्छी गाउँपालिका-६ स्थित सडकमा गाडीले ठक्कर दिएपछि स्थानीयले सडक अवरुद्ध पारेको गल्छी गाउँपालिका-३ का वडाध्यक्ष कपिलप्रसाद रेग्मीले बताए।
बयलकोटीलाई ठक्कर दिने गाडीको पहिचान भएको छैन।
‘उक्त गाडीको पहिचान गरी कारबाही गर्न माग गर्दै स्थानीय जनताले सडक अवरुद्ध पारेका छन्,’ रेग्मीले भने।
दुर्घटनापछि करिब तीन घन्टादेखि पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडक अवरुद्ध छ। सो बाटोमा चल्ने सयौं सवारीसाधन बीचमै रोकिँदा सडकमा लामो जाम भएको छ।