रुपन्देहीमा एकैदिन ५ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार देशभर ७ हजार ४ सय ४८ जना संक्रमित थपिदा रुपन्देहीमा ५ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ८४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो अवधिमा जिल्लामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सोमबार थपिने संक्रमितमध्ये २ सय ५१ जना बुटवल उपमहानगरपालिका भित्रका छन्। बुटवल पछि तिलोत्तमा नगरभित्रका १ सय २६, सिद्धार्थनगर नगरपालिकाका ९० जना, सैनामैनाका ३२ जना र देवदहका २० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयको भनाई छ।
त्यसैगरी ओमसतियामा १५, कन्चनमा १२ तथा मायादेबी र सुद्धोधनमा ९–९ जना संक्रमित थपिएका छन्। सियारीमा ८ जना, रोहिणीमा ४ जना, सम्मरीमाईमा २ जना र गैडहवामा १ जना नयाँ संक्रमित थपिएको कार्यालयले जनाएको छ।
कुल ४ हजार १ सय ५ जना सक्रिय संक्रमित रहेकोमा सिकिस्त अवस्थाका १ सय ३१ जनाले विभिन्न अस्पतालमा उपचार गराईरहेका छन्। त्यस्तै ३ हजार ९ सय ७४ जना होम आइसोलेशनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।