विराटनगरको बाल सुधार गृहमा रहेका २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ।
५० जनाको पिसिआर परीक्षण गर्दा आधालाई कोरोना देखिएको विराटनगर महानगरपालिकाले जनाएको छ।
सुधारगृहमा क्षमताभन्दा धेरैलाई राखिएको छ। ५० जना क्षमता भएको सुधार गृहमा १९३ जना बालक छन्। गत जेठ २ गते पहिलो पटक एक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लक्षण देखिएका थप दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो।
जेठ १३ गते कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पिसिआर गर्दा २२ जनाको रिपोर्ट पोजिटिभ आएको हो। २२ जनाको रिपोर्ट आएयता अन्य बालकको पिसिआर परीक्षण भएको छैन।
सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको छ। जेठ १३ गते संकलन गरिएको नमुनाको रिपोर्ट १७ र १८ गते आउँदा २२ जनामा कोरोना देखिएको भएपनि अन्य बालकको परीक्षण अझै भएको छैन।
सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार सङ्क्रमण पुष्टि भएका बालकहरूलाई छुट्टै स्थानमा राखिएको छ। जेठ १३ गते स्वाब सङ्कलन गरिएका बालकको रिपोर्ट ढिलो आएकोले अन्य बालकको परीक्षणमा ढिलाई भएको उनको दावी छ।
सुधारगृहको एउटै कोठामा २५ जनासम्म बालकहरुलाई राखिएकोले उनीहरुमा कोरोना फैलिएको हो। सुधार गृहमा १४ देखि १८ वर्ष उमेर समूहका बालकहरु छन्।