नेदरल्यान्ड पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
खोटाङ बाह्रपोखरी गाउँपालिका-५ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३५ वर्षीय प्रकाश राईलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जनाकारी दिए। प्रहरीले उनलाई आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो।
राईले नेदरल्यान्ड पठाइदिने भन्दै १६ जना पीडितहरूसँग एक करोड ३६ लाख ५० हजार ठगी गरेको आरोप छ।
उनले वर्किङ भिसामा नेदरल्यान्ड पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १६ लाख लाग्ने बताएका थिए।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार राईले नेदरल्यान्डमा मासिक ७५ हजार रुपैयाँ तलब हुने भनेर पीडितहरूलाई विश्वासमा लिएर ठगी गरेका थिए। राईले सो रकम लिएर सम्पर्कबिहीन भएपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्राचार भएको प्रहरी उपरीक्षक कोइरालाले बताए।
थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको कार्यालयले जनाएको छ।