प्रारम्भिक बाल विकास शिक्षकहरूको कर्णाली प्रदेशस्तरीय सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ।
शुक्रबार र शनिबार भएको प्रथम प्रदेशस्तरीय भेलाले विभिन्न प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको हो।
कर्णाली प्रदेश सरकारले स्वीकृत गरेको कर्णाली प्रदेशको प्रारम्भिक बालविकासको एकीकृत रणनीतिक योजना सबै स्थानीय तहमा कार्यान्वयनका लागि सहजीकरण गर्ने, बाल विकास केन्द्रको न्यूनतम मापदण्ड लागु गरी सबै स्थानीय तहमा रहेका बाल विकास केन्द्रमा कार्यान्वयन गर्ने, स्थानीय तहका प्रत्येक वडाहरूमा कम्तिमा एक नमुना बाल विकास केन्द्र स्थापना गर्न प्रदेश सरकारको अग्रसरता तथा स्थानीय सरकारको सहयोगमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता गरिएको छ।
बाल विकास केन्द्रको भौतिक तथा शैक्षिक व्यवस्थापन सुदृढ गर्न नमुना बाल विकास केन्द्रहरूलाई प्रोत्साहन गर्ने नीति अबलम्बन गर्ने, बालविकास केन्द्रका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न प्रारम्भिक सिकाइ तथा विकास मापदण्डको आधारमा आधारभूत तालिम, प्रारम्भिक साक्षरता र गणितीय सीप सम्बन्धी तालिम, अवलोकन भ्रमण, शैक्षिक सामग्री निर्माण कार्यशाला, घुम्ती बैठकको व्यवस्था गर्ने प्रतिबद्धता पनि सम्मेलनमार्फत गरिएको छ।
वर्षमा कम्तिमा २२० दिन बाल विकास केन्द्र खुल्ने र १९२ दिन सिकाइ क्रियाकलापहरू सञ्चालन गर्ने, बालबालिकाहरूको दैनिक उपस्थिति दर कम्तिमा ९० प्रतिशतभन्दा बढी सुनिश्चित गर्न, बालबालिकाहरूको टिकाउ दर शत प्रतिशत बढाउने र बीचमै विद्यालय छोढ्ने दरलाई शून्यमा झार्ने प्रतिबद्धता पनि गरिएको छ।
प्रत्येक ६ महिनाको एकपटक बालबालिकाहरूको स्वास्थ्य परीक्षण गराई आवश्यक भिटामिन र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि प्रयोगको व्यवस्था सुनिश्चित गराउने लगायतका प्रतिबद्धता सम्मेलनमार्फत गरिएको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सेभ द चिल्ड्रेनको आयोजना गरिएको उक्त सम्मेलन प्रारम्भिक बालविकास शिक्षकहरूको नेपालमै पहिला प्रदेश सम्मेलन हो।
यसअघि पनि जाजरकोटको छेडागाड नगरपालिका र कुशे गाउँपालिकामा पहिलो पालिकास्तरीय भेला आयोजना गरिएको थियो।