तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ।
राप्ती गाउँपालिका वडा नम्बर ५, ६ र ७ मा दुई सय ५० वटाभन्दा धेरै कच्ची घर डुबानमा परेका छन्। सयौं मानिस विस्थापित भएका छन्।
गाउँपालिकाको वडा नम्बर ६ मा घरहरू डुबानमा पर्दा छानामा बसेर हारगुहार गरिरहेका ६ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले सेतोपाटीलाई बताए।
राप्तीमा आएको बाढीले स्थानीय खोलाहरू थुनिएपछि बाढी बस्तीमा पसेको हो। डुबानमा परेका बस्तीका सर्वसाधारण आफैं सुरक्षित स्थानमा गएर बसेको तथा फसेका कतिपयलाई उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै दाङ देउखुरीकै गढवा गाउँपालिका क्षेत्र पनि जलमग्न बनेको छ।
'गढवाका अधिकांश वडाका बस्ती डुबानमा परेको खबर छ,' प्रवक्ता गौतमले भने, 'सबैतिर जलमग्न छ, प्रहरी पनि जान सक्ने अवस्था छैन। मैले बुझ्दा त्यहाँ एकदेखि डेढ सय घर डुबानमा परेको प्रारम्भिक सूचना पाएको छु।'
दाङमा पानी पर्ने क्रम जारी भएकाले जोखिम बढ्न सक्ने खतरा उनले औंल्याए। विपदको समयमा सबैले जिउज्यानको सुरक्षाका लागि हातेमालो गर्नुपर्ने परिस्थिति आएकाले स्थानीय जनप्रतिनिधिदेखि सबैलाई हारगुहार गरिएको उनले बताए।
गढवाका पत्रकार दुख्खहरण यादवका अनुसार गाउँपालिकाको झन्डै दस गाउँ डुबानमा परेको छ। गढवा बजारसमेत डुबानमा परेको उनले बताए। गढवा बजारको सामुदायिक पुस्तकालयको पर्खाल ढलेको, गढवा वडा नम्बर ७ कार्यालयको पर्खाल ढलेको, पुरानो गढवा गाउँपालिका भवन तथा हाल लुम्बिनी प्रदेशका सभामुखका लागि भनेर प्रस्तावित आवास डुवानमा परेको उनले जानकारी दिए।
राप्ती तटीय क्षेत्रका तकियापुर, बोझिपुर, लोखरपुर लगायतका गाउँमा राप्तीको बाढी पसेर डुबान भएको यादवको भनाइ छ।
'राप्तीको बाढीले ब्लक गर्दा स्थानीय खोलाहरू थुनिएर धर्मापुर, झारबैरा, कान्छी गाउँ, भक्नहवा, मोतिपुर, सेमरी लगायत गाउँ-बस्ती डुबानमा परेका छन्,' पत्रकार यादवले भने, 'गाउँपालिका अन्तरगत वडा नम्बर ४, ५ र ७ नम्बरका सयौं घर डुबानमा परेका छन्। सर्वसाधारणको बिचल्ली भएको छ।'
पूर्व-पश्चिम राजमार्ग लगयत विभिन्न सडक खण्ड अवरूद्ध
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा पहिरो झरेका कारण गन्तव्यमा हिँडेका यात्रु बाटोमै थुनिएका छन्। जिल्ला प्रहरी प्रवक्ता गौतमका अनुसार राप्ती गाउँपालिकाको भालुवाङ बजारदेखि पाँच किलोमिटर पश्चिम कालाकाँटेमा ठूलो पहिरो खसेको छ।
उक्त क्षेत्र गढवा गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्छ। पहिरो पन्छाउन बिहानैदेखि प्रयास जारी रहे पनि सम्भव नभएको र दर्जनौं सवारी साधनमा सवार सयौं यात्रु अलपत्र परेको उनले जानकारी दिए।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका क्षेत्रको च्याउखोलामा पहिरोसँगै रूख ढलेर सडक खण्ड अवरूद्ध भएको छ। त्यो पनि पन्छाउने प्रयास जारी रहेको उनले बताए।
डुबानमा परेको देउखुरी क्षेत्रमा जान भनेर हिँडेका जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी दिउँसो साढे २ बजेसम्म पनि पहिरोका कारण सडक खण्डमै रोकिनुपरेको पनि गौतमले बताए।
उनका अनुसार घोराही–लमही सडक खण्डको मुसोट खोलाभन्दा केही पर पनि ठूलो पहिरो झरेको खबर केही बेरअगाडि प्राप्त भएको छ। सो सडक खण्डमा त्योबाहेक अरू ठाउँमा पनि पहिरो झरेकाले अवरूद्ध भएको छ।
त्यस्तै शुक्रबार दिउँसो झरेको पहिरोको कारण राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–अमेलिया सडक खण्ड अवरूद्ध भएको छ। सडक खण्डको भञ्ज्याङमा पहिरो झरेकाले पन्छाउने प्रयासका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ल घटनास्थलतर्फ लागेका छन्।
लमहीदेखि गढवा हुँदै कोइलाबास जाने सडक खण्ड पनि बाढी-पहिरोका कारण अवरूद्ध छ। राप्ती नदी लगायत स्थानीय खोलामा आएको बाढीका कारण सडक खण्डमा बाढी पस्दा यातायात ठप्प बनेको हो।
राप्ती गाउँपालिकाकै भालुवाङ बजारदेखि उत्तर प्युठान जिल्ला जोड्ने सडक खण्ड पहिरोका कारण बिहानैदेखि अवरूद्ध छ। भालुवाङ बजारदेखि ६ किलोमिटर उत्तर राप्ती गाउँपालिकाको कावासोती क्षेत्रमा ठूलो पहिरो झरेका कारण पन्छाउन मुस्किल भइरहेको प्रहरीले बताएको छ।
घोराही बजारदेखि उत्तर रोल्पा जिल्ला जोड्ने सहिद मार्ग अवरूद्ध नै छ। दाङ–रोल्पा सिमाना क्षेत्रमा पहिरो झरेका कारण सहिद मार्ग अवरूद्ध बनेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी प्रवक्ता गौतमले लगातार वर्षासँगै परेको चट्याङ लागेर दिउँसो लमही नगरपालिका वडा नम्बर २ मा बिमला चौधरी अचेत भएको खबरपछि उद्धार गरी अस्पताल पुर्याइएको बताए।
पूर्व-पश्चिम राजमार्ग अवरूद्ध हुँदा कपिलबस्तु हुँदै दाङ र बाँकेको नेपालगन्ज वा बर्दियातर्फ आउजाउ गर्ने यात्रु मात्रै नभई बिरामीसमेत सडकमै अलपत्र परेका छन्।
बाँके, बर्दिया, सुर्खेत लगायत क्षेत्रबाट दाङ प्रवेश गर्ने राप्ती राजमार्गको अमेलिया बजार हुँदै तुलसीपुर सडक खण्ड र पूर्व-पश्चिम राजमार्ग हुँदै लमहीदेखि घोराही जाने सडक खण्ड पनि अवरूद्ध हुँदा दसैंमा आवतजावत गर्ने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।
ती बाहेक लमही–गढवा–कोइलाबास, भालुवाङ–प्युठान–पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अमेलिया–लमही–भालुवाङ हुँदै कपिलवस्तु तगा त्यताबाट आउवाउ गर्ने यात्रु पनि सडकमै रोकिन परेको छ।
पहिरोका कारण दाङसँग पहाडी जिल्लाहरूको सम्पर्क बिच्छेद हुँदा समस्या उत्पन्न भएको छ।
'पहाडी जिल्ला जाने बाटोमा मात्रै समस्या छैन,' डिएसपी गौतमले भने, 'दाङ जिल्लाकै आन्तरिक बजार जोड्ने सडक खण्डहरू पनि अवरूद्ध हुँदा जिल्लाको लाइफलाइन लगभग ठप्प बन्न पुगेको छ।'
बुधबारको बाढीमा परी तुलसीपुरमा एक र घोराहीमा दुई जना गरी तीन जनाको बगेर तथा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
हेर्नुहोस् दाङमा वर्षाले पारेको असर तस्बिरमाः
तस्बिरहरूः दुख्खहरण यादव
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20dukhkha%20haran%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20dukhkha%20haran%20%288%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20dukhkha%20haran%20%283%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20dukhkha%20haran%20%284%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20dukhkha%20haran%20%287%29.jpg)
तस्बिरहरूः प्रिया स्मृति गजमेर
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20smriti%20%281%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20smriti%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20smriti%20%285%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20smriti%20%284%29.jpg)
तस्बिरहरूः टेकबहादुर पुन
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20tekbahadur%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20tekbahadur%20%283%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20tekbahadur%20%284%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/dang%20tekbahadur%20%281%29.jpg)