एउटा मन्दिर बन्न के–के चाहिन्छ?
श्रम, मिहिनेत अनि लागत।
र, त्योभन्दा बढी चाहिने त भगवानको आस्था नै हो।
त्यो आस्था नै त थियो, जसले राजा श्रीनिवास मल्लका विश्वासिला चौतारा (मन्त्रीसरहका भारदार) भगीरथ भैयालाई पाटनमा काष्ठकलाले भरिएको भव्य विश्वनाथ मन्दिर बनाउन प्रेरित गर्यो।
विक्रम सम्बत् १७२६ मा मुगल शासक औरङ्गजेबले भारतको पवित्र तीर्थ मानिने काशी (वनारस) को विश्वनाथ मन्दिर भत्काइदिएका थिए। नेपालीहरूसमेत तीर्थ जाने उक्त मन्दिर भत्किएपछि त्यसको चिन्ता भारतमा मात्र सीमित रहेन। अब विश्वनाथ पुज्न कहाँ जाने भन्ने चिन्ता नेपालीलाई झनै बढी थियो।
त्यही चिन्ता मेट्न भगीरथ भैयाले पाटन दरबार प्रवेश गर्दागर्दै प्यागोडा शैलीको तीनतले विश्वनाथ मन्दिर बनाए। आजभन्दा ३४५ वर्षअघि बनेको त्यो मन्दिरलाई उनकै नाममा भाइदेगः भन्न थालियो। नेपाल भाषामा देगः को अर्थ मन्दिर हुन्छ। यसलाई भाइचा मन्दिर पनि भन्ने चलन छ।
यो मन्दिर बनाउने भगीरथ भैया तत्कालीन समयका प्रभावशाली व्यक्ति थिए। उनी राजा श्रीनिवास मल्लका विश्वासपात्रमा गनिन्थे।
रातो मच्छिन्द्रनाथ मन्दिरमा राजा र प्रजाले पालना गर्नुपर्ने नियम ‘सम्वत्सर–लोहो’ छ, जसमा कुँदिएका अक्षरले राजा श्रीनिवास मल्ल र भगीरथ भैयाको सम्बन्ध कति प्रगाढ थियो भन्ने बताउँछ।
उक्त अभिलेखमा लेखिएको छ, ‘श्री श्री जय श्रीनिवास मल्ल ठाकुरले आफैंले छानी भगीरथ भैयालाई चौतारा बनाउनुभएको हो। मैले (श्रीनिवास मल्ल) आफ्नो जिउ र उनमा (भगीरथ भैयामा) कुनै फरक देखेको छैन।’
पाटनमै रहेको विश्वेश्वर मन्दिरमा पनि १७३४ सालको एउटा अभिलेख छ जसमा लेखिएको छ – कीर्ति फैलिएका तेजिला, विद्वान, दानी, नेपालका राजाहरूमा श्रेष्ठ श्री श्रीनिवास मल्ल राजा ललितपुरमा हुनुहुन्छ। ठूला राजा वहाँका असल ठूला मन्त्री भगीरथ छन्। उनले अनेक अरू राजाहरूलाई वशमा पारेका छन्। उनलाई अरू राजाहरूले असल हात्ती दिएका थिए।
श्रीनिवास मल्ललाई कला, वास्तुकला, साहित्य, संगीत तथा राजनीतिमा सचेत राजा मानिन्छ। उनले भगीरथ भैयाकै सहयोगमा त्यो प्रतिष्ठा कमाएको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पेशल दाहाल बताउँछन्।
‘श्रीनिवासको सफलताको पछाडि भगीरथ भैयाको ठूलो हात थियो। श्रीनिवासको शासनको सुरूतिर चौताराका रूपमा कीर्तिसिंह थिए। १७२८ सालतिर भने भगीरथ भैया शक्तिशाली भइसकेको पाइन्छ,’ दाहालले ‘नेपालको मल्लकालीन इतिहास’ किताबमा लेखेका छन्, ‘श्रीनिवास मल्लले अधिकांश देवमूर्ति, मन्दिर, पाटीपौवा भगीरथ भैयाकै सल्लाहमा बनाएका थिए। राजाले पनि गौरवसाथ मैले यो काम भगीरथ भैयाको सल्लाहले गरेको भनेर भनेका छन्।’
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_MG_8596%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_MG_8604%20copy.jpg)
भगीरथ भैया युद्धमा सेनापति भएर पनि जाने गर्थे। १७३१ साल कात्तिकमा मकवानपुरमा लड्न जाँदा गोर्खा, लमजुङ लगायतका सेना बनेर उनी गएका थिए। फर्पिङमा रहेको भगीरथ भैयाको १७३४ सालको एक अभिलेखमा ‘आफैंले हेरचाह गरिराखेको फर्पिङ सहर’ उल्लेख भएकाले उनलाई फर्पिङ क्षेत्रको शासनाधिकार दिइएको थियो भन्ने बुझिने दाहाल बताउँछन्। उनी त्यहीँको बासिन्दा भएको पनि धेरैको अनुमान छ।
१७३४ सालमै भगीरथले फर्पिङ सहरका किल्लाका ढोकाहरू जीर्णोद्धार गर्ने, सडकमा ढुंगा छाप्ने, शिवनारायण मन्दिरको ढोका बनाउने तथा धाराको जिर्णोद्वार गर्ने लगायत काम गरेका थिए।
यस्ता प्रतिभाका धनी भगीरथको क्षमता श्रीनिवास मल्लका छोरा योगनरेन्द्रले भने चिन्न सकेनन्। उनको भगीरथसँग राम्रो दोस्ती थिएन। त्यही भएर आफू राजा भएको केही महिनामै १७४२ भदौमा रानीहरूसँग राम्रो व्यवहार नगरेको दोष लगाएर उनलाई मार्न लगाए।
चौतारा भगीरथले श्रीनिवासको शासनकालमा रहेको आफ्नो प्रभावकै कारण भाइदेगः मन्दिर बनाउन सफल भएका थिए। यही मन्दिरमा १७३४ सालको एउटा अभिलेख छ जसमा लेखिएको छ – भगीरथले पुण्यभूमि काशीबाट भयंकर यवनदेखि उद्विग्न भएजस्ता विश्वनाथ महादेवलाई ललितपुरमा ल्याए।
भाइदेगः मन्दिरकै अगाडि सडकपारि ‘लामोपाटी’ सत्तल छ, जुन भगीरथ भैयाले नै निर्माण गराएका हुन्।
‘यो मन्दिरको उद्घाटन समारोहमा विभिन्न राज्यका बाह्र जना राजा उपस्थित भएका थिए। तिनीहरूलाई यही लामोपाटीका बाह्र कोठामा राखी सत्कार गरिएको थियो,’ पेशल दाहालले आफ्नो किताबमा लेखेका छन्।
नब्बे सालको भुइँचालोमा भत्किएर यो मन्दिर भग्नावशेषमा परिणत भएको थियो। तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाको पहलमा त्यस समय पाटनका प्रायः मन्दिर पुनर्निर्माण हुँदा यो मन्दिर भने त्यसै रह्यो। यहाँको शिवलिंग भने मुगल शैलीमा डोम आकार दिएर जगेर्ना गरियो।
२०७१ सालमा बल्ल यो मन्दिर पहिलेकै स्वरूपमा पुनर्निर्माण गर्न सात सदस्यीय सांस्कृतिक सम्पदा संरक्षण समूह बन्यो। समूहमा संस्कृतिविद् सत्यमोहन जोशी, पत्रकार कनकमणि दीक्षित, बैंकर पृथ्वीबहादुर पाँडे, वास्तुविद् एवं काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केपिभिटी) का अध्यक्ष रोहित रञ्जितकार लगायत थिए।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_MG_8622%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_MG_8646%20copy.jpg)
नब्बे सालको भुइँचालोले आठ दशकसम्म भग्नावशेषमा विलिन गराएको यो मन्दिर पुनर्निर्माण गर्न उनीहरूलाई सबभन्दा महत्वपूर्ण बन्यो बेलायतका चिकित्सक एवं चित्रकार हेनरी एमब्रोस ओल्डफिल्डको चित्र। उनले १९१० सालमा बनाएको चित्रमा मन्दिरको खम्बा, टुँडालमा रहेका काष्ठकलाको मिहिन कामसमेत चित्रित थियो। पूर्वन्यायाधीश एवं लेखक गौरीबहादुर कार्की ओल्डफिल्डको चित्रलाई क्यामराले तस्बिर खिचेजस्तो भनेर बयान गर्छन्।
‘हाम्रा अधिकांश मन्दिरका प्रत्येक टुँडालमा अलग–अलग देवीदेवताका अलग मुद्राको चित्र कुँदिएको पाइन्छ। यो मन्दिरमा पनि अलग–अलग मुद्राका अलग–अलग चित्र रहेको ओल्डफिल्डको पेन्टिङबाट देखिन्छ,’ उनले भाइदेगः मन्दिरबारे लेखेका छन्, ‘इँटाको गारोको बनावट, बुट्टा काटेको काठको तह–तह कार्नेस यो मन्दिरको अर्को महत्वपूर्ण कला हो। दुई थामको बीचमा बुट्टे तोरणसमेत रहेको तस्बिरमा देखिन्छ। जमिनमाथि पेटीको तहको गारो ठाउँठाउँमा चर्केको समेत ओल्डफिल्डले चित्रमा उतारेका छन्।’
चित्रकै बुट्टामा भएजस्ता केही टुँडाल पाटन दरबारको भण्डारखालको स्टोरमा भेटिएपछि यो मन्दिर निर्माणलाई झनै रोचक मोडमा पुर्याएको थियो। त्यहाँ भेटिएका टुँडाल र यो चित्र तुलना गरे मात्रै पनि यो कति जीवन्त कला थियो भन्ने थाहा पाउन सकिन्छ।
संरक्षण समूहले यस्ता रोचक सामग्री संकलन गरिरहेकै बेला २०७२ सालमा अर्को ठूलो भुइँचालो गयो। त्यसपछि पाटनमा थप मन्दिरहरू भत्किए। ती मन्दिर सँगसँगै भाइदेगः मन्दिर पनि पुनर्निर्माण हुन थाल्यो। निर्माणको अन्तिम–अन्तिम चरणमा पुगिसकेको यो मन्दिर गत वर्षयता भने बन्न सकेको छैन। यसको कारण हो, आर्थिक अभाव।
सांस्कृतिक सम्पदा संरक्षण समूहका उपाध्याक्ष कनकमणि दीक्षितका अनुसार सुरूमा पाँच करोड रूपैयाँ बजेटमा यो मन्दिर बनाउन थालिएको थियो। काम गर्दै जाँदा सालको काठ र कालिगढीको कामको मूल्य बढेकाले मन्दिर निर्माणमा थप चार करोड बजेट आवश्यक भएको छ।
यो वर्ष शिवरात्रिमा यही मन्दिर निर्माणका लागि रोटरी क्लब अफ पाटन हेरिटेजले सम्पदा पैदल यात्रा गराएको थियो। उनीहरूले गराएको पैदल यात्रामा करिब दुई हजार मानिस सहभागी भएका थिए। पैदल यात्रामा सहभागी हरेकसँग सात सय रूपैयाँ संकलन गर्दा १४ लाख रूपैयाँ जम्मा भयो। यो रकम उनीहरूले सोमबार सांस्कृतिक सम्पदा संरक्षण समूहलाई दिए।
उक्त रकम लिइसकेपछि दीक्षितले भने, ‘डेढ वर्षदेखि रोकिएको कामले रोटरी क्लबको सहयोगबाट पुनः निरन्तरता पाउँदैछ। ललितपुर महानगरपालिकाले पनि यो मन्दिर निर्माणलाई थप ५० लाख सहयोग दिने भनेको छ। हामीलाई चाहिएको अब करिब तीन करोड रूपैयाँ हो। त्यो रकम पायौं भने यो मन्दिर निर्माणको काम एक वर्षमै सकिन्छ।’
दीक्षितले भाइदेगः मन्दिर नजिकै रहेको भीमसेन मन्दिर पुनर्निर्माण समितिबाट पनि केही सहयोग आउने आशा देखाए।
भीमसेन मन्दिर हालै जनस्तरबाट उठाइएको चन्दाबाट निर्माण सम्पन्न भइसक्यो। निर्माणपछि पनि चन्दा उठाएको रकम एक करोडभन्दा बढी बचेको छ।
‘महादेवको सौहार्दता भीमसेनमा जहिल्यै थियो। अब भीमसेनले पनि सौहार्दता देखाउने हो भने यति राम्रो कालिगढी भएको यो मन्दिर निर्माण चाँडै सम्पन्न हुने थियो,’ उनले भने, ‘जसरी २०७२ सालमा भत्किएको मन्दिर पुनर्निर्माण भएर पाटनलाई ऊर्जा दिएको छ, नब्बे सालमा भत्किएर पुनर्निर्माण नभएको यो मन्दिरले पाटनलाई अर्को खालको तरंग दिनेछ।’
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_MG_8638%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_MG_8655%20copy.jpg)
ललितपुरका मेयर चिरिबाबु महर्जनका अनुसार यो मन्दिर बनाउन महानगरपालिकाले पहिला १ करोड २३ लाख रकम दिइसकेको छ। २०७९/८० को बजेटअनुसार महानगरपालिकाले थप ५० लाख बजेट दिँदैछ। यो मन्दिर निर्माण भइसक्दा मान्छेले सम्झनलायक सम्पदा बन्नेमा उनी विश्वस्त छन्।
भीमसेन मन्दिरलाई त्यस्तै सम्झनलायक बनाउनुपर्छ भनेर मेयर महर्जन आफैं अग्रसर भएका थिए। उनी टेन्डरमार्फत् मन्दिर बनाउन हुन्न भन्ने पक्षमा सधैं लड्दै आएका छन्। त्यही भएर नेपाल सरकारको लागतबाट मन्दिर बन्नु हुन्न भन्ने धारणा राख्छन्।
‘सम्पदा निर्माण कार्यमा नेपाल सरकारको पैसा पर्नु हुन्न। नेपाल सरकारको पैसा पर्नासाथ सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ लागू हुन्छ। त्यसमा टेन्डर प्रक्रिया हुन्छ र टेन्डरको काम राम्रो हुन्न,’ उनले भने, ‘टेन्डर प्रक्रियामा नगई पुनर्निर्माण समितिले बनाएको भीमसेन मन्दिर अहिले जनजिब्रोमा बसेको छ। भाइदेगः मन्दिरलाई पनि मान्छेले त्यसरी सम्झन्छन् भन्नेमा कुनै शंका छैन।’
महर्जनका अनुसार ९० सालको भुइँचालोपछि भत्किएर पुनर्निर्माण नभएका मन्दिर पाटनमा चारवटा छन्। भाइदेगः मन्दिरसँगै भष्मेश्वर महादेव, मानमानेश्वरी र उमामहेश्वरी मन्दिर निर्माण गर्न बाँकी छन्। भष्मेश्वर मन्दिर निर्माण गर्न केही रकम अघिल्ला वर्ष व्यवस्था भए पनि अन्य समस्याका कारण त्यो निर्माण हुन सकेन।
मानमानेश्वरी निर्माण गर्न त्यस्तो कुनै समस्या छैन। मेयर महर्जनले भीमसेन मन्दिर पुनर्निर्माण समितिले नै आर्थिक सहयोग गरे उक्त मन्दिर पनि बन्न सक्ने बताए।
‘भीमसेन मन्दिर बनाएपछि बचेको रकमबाट ५० लाखभन्दा अलि बढी पैसा महानगरलाई उपलब्ध गराइने हो भने बाँकी रकम हामी व्यहोर्न तयार छौं,’ महर्जनले भने, ‘यो कार्यकालको एक वर्ष त सकिनै लाग्यो तर मसँग अर्को चार वर्षको बजेट छ। त्यो बजेटबाट पनि म मानमानेश्वरी र नब्बे सालमा भत्किएर नबनेका अरू मन्दिर बनाउन व्यवस्था गर्न सक्छु।’
भाइदेगः मन्दिर पुनर्निर्माणमा प्राविधिक सहयोग गरिरहेको केभिपिटीका निर्देशक रोहित रञ्जितकारका अनुसार भाइदेगः मन्दिरमा अब छानाको काम मात्र बाँकी छ। छाना काठै काठले बनेको हुन्छ र त्यही कारण यसको लागत महंगो हुने भएकाले निर्माण सम्पन्न गर्न समस्या आएको हो।
रञ्जितकारका अनुसार छानामा २२ वटा पुरानै कलात्मक टुँडाल हुने छन्। यो मन्दिरको टुँडाल र पिल्लरमा बुट्टाहरू कुँद्न ओल्डफिल्डको चित्र र भण्डारखालमा भेटिएका टुँडालहरूले सहयोग त गर्यो नै, केही बुट्टा अन्य शिव मन्दिरबाट हेरेर पनि बनाइएको छ।
‘हामीले यही समयमा बनेका अन्य शिव मन्दिरको रिफरेन्स लिएर ती बुट्टा बनाएका हौं। हामीसँग जति कलाकृति थियो, त्यसमा यी मिल्छन् वा मिल्दैनन् भनेर तुलना अनि प्रयोग गर्दै बनाएका हौं,’ उनले भने।
भाइदेगः मन्दिरको विशेषता भनेकै यसमा भएको काष्ठकला हो। मन्दिरको काष्ठकला डिजाइन गर्दा पाटनका संस्कृति अध्येता नुतनधर शर्माले परामर्श पनि दिएका थिए। शर्माका अनुसार यहाँको काष्ठकलामा शिवपुराण र स्कन्द पुराणको कथा छ।
जस्तो, एउटा टुँडालमा शिवपुराणमा उल्लेख भएको त्रिपुरासुर राक्षसको वधको कथा छ। कथाअनुसार त्रिपुरासुर अर्थात् तीन भाइ असुरहरू तरकाक्ष, कमलाक्ष र विद्युन्मालीले ब्रह्मामार्फत् वरदान पाएर सुन, चाँदी र फलामका नगर बनाएका हुन्छन्। यी तीन भाइ असुरले देवताहरूलाई दुःख दिन थाले। हजारौं वर्षपछि शिवले धनुवाण हानेर त्रिपुरासुर भष्म गरिदिए।
‘शिवसँग जोडिएको मन्दिर भएकाले यी र यस्ता अनेकन कथा मन्दिरका कलाकृतिमा कुँदिएको छ,’ शर्माले भने।
मन्दिरमा भएको शिवलिंग अनि मन्दिरको जगमा रहेको कलात्मक ढुंगाका आकृति भने पुरानै हो। पितलको गजुर पनि सुरक्षित छ, जुन मन्दिरको काम सम्पन्न भइसकेपछि राखिनेछ। नब्बे सालमा भत्किएदेखि नबनेको यो मन्दिर बन्नु भनेको पाटनवासी र नेपालकै लागि गर्वको कुरा भएको शर्मा बताउँछन्।
एउटा मन्दिर बन्न श्रम, मिहिनेत अनि लागतभन्दा बढी भगवानको आस्था चाहिन्छ। भाइदेगः मन्दिर पुनर्निर्माण भने अहिले लागतमा गएर रोकिएको छ। रोटरी क्लब अफ पाटन हेरिटेजको सानो प्रयासले मन्दिरको काम सम्पन्न गर्न पुनः बल थपेको छ।
भगवानप्रति यस्तै आस्था मान्छेमा रहिरह्यो भने यो मन्दिर बन्न अब धेरै समय नलाग्ला!
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_MG_8581%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_MG_8614%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_MG_8628%20copy.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Sudeep/_MG_8728%20copy.jpg)